पोखरा, बैशाख १० गते ।गण्डकी प्रदेशको पर्यटकीय र आर्थिक मेरुदण्डको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्वन्धमा पछिल्लो समयमा आएका विभिन्न विषयहरु प्रति पोखरा पर्यटन परिषदले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण गर्न पोखराका पर्यटन व्यवसायीहरुले विगतमा गरेका विभिन्न पहल कदम पश्चात २०७९ पौष १७ गते निमार्ण सम्पन्न भई विमानस्थल संचालनमा आएको सबैलाई सर्वविद्धितै छ परिषदले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निमार्ण सम्पन्न भएको लामो समयसम्म पनि व्यवसायीक अन्तराष्ट्रिय उडान हुन नसकिरहेको अवस्थालाई चिर्दै पोखरा पर्यटन परिषदकै नेतृत्वमा गत चैत्र ५ गतेका दिन ऐतिहासिक पहिलो व्यवसायीक उडान पोखरावाट १२६ जना यात्रु लिई चिनको छेन्दु अवतरण गरेको र तत् पश्चात हाल साप्ताहिक रुपमा सिचुवान एअरले पोखरा छेन्दु एक उडान र हिमालयन एअरलाईन्सले पोखरा ल्हासा साप्ताहिक रुपमा एक उडान गरिरहेको उल्लेख गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट अन्तराष्ट्रिय उडान आकर्षित हुदै गैरहेको वर्तमान अवस्थालाई छायाँमा पार्ने गरी भैरहेका समग्र पोखराको वदनामी गर्ने किसिमका क्रियाकलाप प्रति परिषद्को ध्यान गम्भीर रुपमा आकृष्ट भएको अध्यक्ष तारानाथ पहारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
हामी कुनै पनि प्रकारका निमार्ण कार्यमा हुने भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति लागु हुनु पर्छ भन्नेमा दृढ छौ । यदि कहि कतै भष्ट्राचार भएको छ भने यथाशिघ्र निश्पक्ष रुपमा छानविन गर्न समेत हामी सम्वद्ध सवै पक्षसंँग माग गर्दछौ । तर विभिन्न बाहानामा पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान बनाउन बाट रोक्ने र पोखराको बदनाम हुने गरी गरिने गतिविधि तथा क्रियाकलापहरु तत्काल रोक्न जोडदार माग गर्दछौ पहारीले भन्नुभयो ।साथै पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित उडानका साथ पूर्ण रुपमा सञ्चालन गर्न आज पनि निजी क्षेत्र एक भएर अगाडि बढिरहेको सन्दर्भमा राज्यवाट पनि सोहि प्रकारको साथ र सहयोगको अपेक्षा गर्दछौ विज्ञप्तिमा भनिएको छ ।