सुर्खेत, वैशाख २९ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताउनुभएको छ । सोमबार सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो उद्घाटन र रेडियो नेपाल प्रादेशिक प्रसारणबाट खस भाषाबाट समाचाार सुभारम्भको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेश सुनिने मात्र नभएर देखिने गरी विकास गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म कर्णाली सुनिने मात्र होइन्, विकट छ भन्ने मात्र होइन । पूर्वाधारमा बलियो बनाउछौँ । जनताले चाहे जसरी कर्णाली देखिने गरी विकास गछौँ ।’’ उहाँले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने पनि बताउनुभयो ।
उहाँले सरकार सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै राष्ट्रिय एकताको प्रवर्धनमा पनि काम गरिरहेको बताउनुभयो । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समितिले जनतालाई केन्द्रित गरेर अघि बढेको उहाँको भनाइ छ । उहाँले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै यसलाई अझै प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । एनटिभिलाई विश्वसामु पुर्याउने यसै वर्ष अंग्रेजी भाषामा प्रसारण गर्ने तयारी गरिएकाले पनि उहाँले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशले अघि बढाएको डिजिटल प्रदेशको योजनालाई सङ्घले सहकार्य गरेर सहयोग गर्ने पनि बताउनुभयो । खस भाषाको समाचार सुरुवाताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुद्धृढ गराउने दिशमा यो प्रयास ऐतिहासिक हुने बताउनुभयो । समाचारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने उहाँको भनाइ छ ।
यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विकास र समृद्धिका कुरा जनप्रतिनिधि र कर्मचारीको मात्र नभइ सबैको साझा विषय हो भनेर बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णाली विकट मात्र भएको प्रचार भएकाले भन्दै यहाँको सम्भावना र विकासका गतिविधिहरू पनि प्रचार हुन आवश्यक रहेको भन्दै यसमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुयो । उहाँले भन्नुभयो, ‘‘हामी कर्णाली बनाउन लागिरहेका छौँ । कर्णालीको विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका छ ।’’