अन्नपूर्ण गाउँपालिका कास्कीको नीति कार्यक्रम सभामा प्रस्तुत

पाेखरा, असार ८ गते ।कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेकाेछ । १८ औं गाउँ सभामा अध्यक्ष विष्णु बहादुर केसीले कृषि,पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयाे ।


अन्नपूर्णले आव २०८२/८३ का लागि ‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’ भन्ने नीति लिएकाे छ ।गाउँपालिका अध्यक्ष केसीले समृद्ध अन्नपूर्ण सुखी अन्नपूर्णवासीकाे नारालाई अगाडि सारिएको बताउनुभयाे ।

उक्त नाराका साथ गाउँपालिकाले आगामि आ.वका लागि विकासका योजनाहरुलाई मार्गदर्शन गर्न र श्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतु सहित कार्यक्रम तर्जुमा गर्ने उल्लेख गर्नुभयाे । उहाँले नीति र कार्यक्रमका आधारमा बजेट व्यवस्था गरिने बताउनुभयाे ।

 

त्यस्तै पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार“ को दीर्घकालीन योजना तय गरी “पालिका बन्छ– बन्दैछ, हाम्रो पालामा” भन्ने नारा समेत नीतिमा उल्लेख गर्नुभएकाे छ ।

 

पालिकाले कृषि विकासतर्फ स्थानीय लोपोन्मुख रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिका स्तरीय बीउ बैंकलाई प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख छ ।

 

त्यस्तै आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन, कृषि बीमा कार्यक्रमका बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछ । “विदेश छोडौः कृषि व्यवसाय रोजौं” भन्ने मुल नाराका साथ युवा लक्षित कार्यक्रम मार्फत नमूना कृषि फर्म स्थापना गरी सिकाई केन्द्रको रुपमा विकास गरिने उहाँले बताउनुभयाे ।

 

त्यस्तै कार्यक्रममा पालिकाकाले एक घर एक करेसाबारी, उत्पादनको साथमा नगद हातमा, गरौँ सबैले कृषि, ल्याऔँ घर घरमा समृद्धि, स्वस्थ माटो, स्वच्छ बालीनाली नारालाई अगाडि सारेकाे छ ।

त्यस्तै पशुपंक्षी अन्र्तगत “स्वस्थ पशुधन समुन्नत अन्नपूर्ण” कार्यक्रम ल्याइएको छ।पशुपालन क्षेत्रमा आधुनिक प्रविधिहरु सुधार गर्न “काम गरेर सिक्छ ,देखेर विश्वास गर्छ” भन्ने नारालाई आत्मसाथ गरिनेछ । त्यस्तै “दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा पशुमा नश्ल सुधार” कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडि बढाइने अध्यक्ष केसीले बताउनुभयाे ।

 

प्र्रस्तुत नीति तथा कार्यक्रममा बीरेठाँटीमा निर्मित एकीकृत पर्यटन सूचना केन्द्रलाई संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन सम्बन्धी अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिने छ ।

त्यस्तै गाउँपालिकाले चक्रीय पदमार्ग अवधारणाको कार्यान्वयनलाई निरन्तरता दिइनेछ।अन्नपूर्ण क्षेत्रका मौलिक कथावस्तु, परम्परा, रहनसहन तथा प्राकृतिक सौन्दर्यलाई समेटी “सिनेमा संवाद कार्यक्रम“ को आयोजना पनि गरिनेछ भने “भिजिट अन्नपूर्ण” कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

 

सामाजिक विकास अन्र्तगत शिक्षातर्फ आगामि वर्ष पालिकाले “शैक्षिक महोत्सव” कार्यक्रमलाई समेटेको छ । हाम्रो विद्यालय हामी बनाउछौँ, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, मागमा आधारित प्राविधिक तालिम, विद्यार्थीहरुको चाहना अनुसारको विषयमा अध्ययन गर्नका लागि बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गरिनेछ ।

 

स्वास्थ्यतर्फ सबै वडामा स्वास्थ्य विमा गर्न जनतालाइ प्रोत्साहित गरिने छ। त्यस्तै आपतकालिन मातृ तथा शिशु स्वास्थ्य व्यवस्थित गर्न गाउँपालिकामा “आपतकालिन सुरक्षित मातृत्व कोष” स्थापना गरिनेछ ।“मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने अभियानका साथ वडा वडामा निरोगी गाउँपालिका अभियान सञ्चालन गरिने बताइएको छ ।

 

त्यस्तै गाउँपालिकाले शहिदहरुको सम्मान र सम्झनाका लागि शहिद स्मारक पार्क निर्माण गर्नेछ ।वडा नं ६ स्थित लुम्ले गाउँलाई कविता, कला र संगीतको सृजनाग्रामको रुपमा विकास गरिनेछ।

 

गाउँपालिकाका भित्र परम्परागत प्राचिन मौलिक भाषा, भेषभुषा, संस्कृति, सहित्य, संगित, गायन र कला क्षेत्रको पहिचान संरक्षण गर्नका लागि गाउँपालिका स्तरीय अन्नपूर्ण प्रज्ञा प्रतिष्ठान गठन तथा परिचालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

त्यसैगरी गाउँपालिकाले “अन्नपूर्णको आवाज, छुवाछुतमुक्त तथा लैगिक हिंसामुक्त र समावेशी समाज”, “म सेवा गर्छु” भन्ने नारा सहितको हेल्प डेक्स (सेवाग्राही सहायता कक्ष) को व्यवस्था, सेवा प्रवाहलाई नागरिक मैत्री बनाउनको लागि मुस्कान सहितको सेवा प्रवाह (कार्यालयमा प्रवेश तथा वहिर्गमन हुँदा समेत) लाई निरन्तरता दिइएको अध्यक्ष केसीले सफल न्युज डटकमलाई जानकारी दिनुभयाे । पालिकाले बजेट असार १० गते ल्याउने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...