सिन्धुली, १० असार । नेकपा (एमाले) वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले राजनीति सही मार्गमा नचले मुलुकको समृद्धि, स्थायित्व र जनअपेक्षाहरू सबै समाप्त हुने बताउनुभएको छ ।
सिन्धुलीमा जारी एमालेको संगठनात्मक प्रशिक्षण कार्यक्रममा अध्यक्ष ढुङ्गेलले योजनाबद्ध ढङ्गले अघि नबढ्ने राजनीति र उद्देश्य, नीति तथा सिद्धान्तविहीन पार्टीहरूले जनताको पक्षमा काम गर्न नसक्ने प्रष्ट पार्नुभएको हो। ढुङ्गेलले नेपाली राजनीतिमा दिशा र दूरदृष्टि अभावले समस्या उत्पन्न भइरहेको बताउनुभयो। उहाँले समाजको गति र परिवर्तनलाई बुझ्न नसक्ने राजनीतिक सोचका कारण जनविश्वास कमजोर बनेको धारणा राख्नुभयो।
राजनीतिक स्थायित्व र सहकार्य आवश्यक भएको सन्दर्भमा ढुङ्गेलले वाग्मती प्रदेशमा नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभयो । कांग्रेसले कतिपय गलत निर्णय गरे पनि सत्ता साझेदार भएकै कारण सहन बाध्य भएको उहाँको भनाइ छ ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले एसियामा नै नेकपा एमालेको जस्तो बलियो सांगठनिक संरचना अरू कुनै पार्टीसँग नरहेको दाबी गर्नुभयो। उहाँले सृजनशीलता, स्पष्ट दृष्टिकोण र संगठनात्मक अनुशासन एमालेले आफ्नो विशेषता बनाएको बताउनुभयो।
जनताका समस्या, अपेक्षा र बोझको जिम्मेवारी अब एमालेले बोक्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले पार्टीले बोलेको कुरा स्पष्ट रूपमा जनतासमक्ष राख्न नसक्दा समस्या उत्पन्न भएको स्वीकार गर्दै, समृद्ध सिन्धुली बनाउन सबै तहका नेता, कार्यकर्ता र नागरिक एकजुट भएर लाग्नुपर्ने सुझाव दिनुभयो।
प्रशिक्षण कार्यक्रममा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय स्कुल विभाग प्रमुख घनश्याम कोइरालाले प्रशिक्षणको रणनीति, दीर्घकालीन उद्देश्य तथा कार्यशैलीका पक्षमा धारणा राख्नुभएको थियो। उहाँहरूले वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र व्यवहारमा रूपान्तरण जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा युवाहरूमा ज्ञान, तर्क, मनोविज्ञान, नेतृत्व र आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने विषयमा जोड दिइएको थियो। भ्रम र अन्योलको अवस्था अन्त्य गर्न सबैभन्दा पहिले गन्तव्य पहिल्याउन सक्नुपर्ने र औचित्यपूर्ण कामका लागि प्रष्टता आवश्यक रहेको प्रशिक्षकहरूको भनाइ थियो।
पार्टीभित्र वैचारिक स्पष्टता, सांगठनिक एकता र राजनीतिक कार्यदिशा सुदृढ गर्दै जनतामाझ विश्वसनीय नेतृत्व तयार गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।