पाेखरा, असार १० गते । २० औं संस्करणकाे असारे राेपाइ महाेत्सव पोखरा २६ लेखनाथको गुदेताल (तालवेसी) मा हुने भएकाे छ ।
पाेखरा पर्यटन परिषद्काे आयाेजनामा पोखरा सबै मौसमका लागि भन्ने मुल नाराका साथ यश वर्ष लेखनाथमा आयाेजना गर्न लागेकाे आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएकाे हाे ।
उक्त क्षेत्रमा रहेकाे करिव नाै राेपनि क्षेत्रफलमा महाेत्सव संचालन गरिने भएकाे छ भने सात हल गाेरु नारिने छन् ।पोखरा पर्यटन परिषदले २०६१ सालवाट “असारे राेपाइ महाेत्सव” आयोजना गर्दै आइरहेको छ ।
पोखराको पर्यटनमा तत्कालिन समयवाट नै अफ सिजनमा पर्यटकलाई आकर्षित गरी पोखरालाई वर्ष भरीकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न असारे रोपाई महाेत्सव महत्वपूर्ण कार्यक्रमका रुपमा स्थापित भएकाे पाेखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयाे ।
पोखराको बड्दो शहरीकरण र स्थानीयवासीहरुको बदलिदो जीवन शैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न समेत उपयोगी भएको बताउनुभयाे ।
पर्यटन व्यवसायीहरुले पोखराको पर्यटनलाई जीवन्त राख्न सञ्चालन गरेका यस्ता मेला महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटनलाई बढवा दिनका साथै पोखरा नेपालकै पर्यटनको केन्द्रको रुपमा विकास भएको उहाँको भनाइ छ।
पाेखरा पर्यटन परिषदले नेपालको पर्यटन राजधानी पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै लैजाने, लुकेका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्ने, किसानलाई आफ्नो पेशा पति उत्प्रेरित गर्नका साथै असार १५ का दिन “हिलोमा एक पटक त टेक्नु पर्छ है” भन्ने भनाइलाई समेत जीवन्त तुल्याउन “रोपाई महोत्सव” मनाउँदै आएको बताउनुभयाे ।
महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान आदि कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयाे ।
सरकारले समेत आषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइरहेको अवस्थामा पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको आवश्यकता र औचित्य थप बढ्दै गएको दाबी परिषद्काे छ ।
कृषि प्रधान मुलुक नेपाल र कृषि बाली मध्ये धान मुख्य बाली संगै नेपालका अधिकांश मानिसहरुका भान्छाको प्रमुख परिकार हो । त्यसमाथि जेठे बुडो धान पोखराको पहिचान बनेको छ। तीव्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालिका रूपमा प्रयोग गरिंदै आएको धान खेती विगतका केही समय यता खस्कदै गरेको अवस्था छ।
पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हास आईरहेको छ। खेती योग्य जमिनसंगै सिमसार, रामसार क्षेत्रको संरक्षण, प्राकृक्तिक पोखराको सौन्दर्यलाई जोगाउन चुनौती बन्दै गईरहेको छ । यसको जगेर्नाको लागि सन्देश दिन पनि पोखरा पर्यटन परिषदले विगतमा जस्तै यस बर्ष असारे रोपाइँ महोत्सवलाई निरन्तरता दिएकाे अध्यक्ष पहारीले बताउनुभयाे ।
कार्यक्रमको आयोजक पोखरा पर्यटन परिषद् तथा स्थानीय आयोजकको रूपमा शान्तिप्रेमी आमा समुह, पोखरा – २६ लेखनाथ गुदेताल (तालवेसी) रहेका छन। कार्यक्रमको प्रवर्द्धकका रूपमा गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा सहकार्य पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाषिज्य संघ रहेका छन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि पोखरा पर्यटन परिषद् र पर्यटनसँग सम्बद्ध विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू सहित परिषद्का अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा ४३ सदस्यीय मुल आयोजक समिति तथा १९ वटा विभिन्न उपसमिति र २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
महाेत्सवका उद्देश्य तथा लक्ष्यहरूमा पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन, “पोखरा सबै मौसमका लागि” भन्ने भनाइलाई सार्थक बनाउँदै यहाँको मौलिक र सम्भवत नेपालमा मात्रै मनाइने रोपाई जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्न, पोखरामा भएका पर्यटकलाई उक्त कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराउने, पोखरा सुरक्षित रहेको र बाह्य तथा आन्तरिक पर्यटकहरूका लागि उत्कृष्ट, सबै मौसममा जान योग्य एवम् सहजै पुग्न सकिने गन्तव्यको रूपमा रहेको जानकारी देशका विभिन्न क्षेत्रमा पुर्याउने र कृषकहरूलाई प्रोत्साहन तथा सम्मान गर्ने, र आफ्नो पेशा प्रति अभिप्रेरित गर्ने रेका छन् ।
त्यस्तै नयाँ पुस्तालाई मौलिक परम्परागत कृषि प्रणालीको जानकारी एवम् उत्पादन प्रकृयाको प्रत्यक्ष अवलोकन गराउने,लुकेर बसेकी सुन्दर गुरेताल लगायत यस आसपासका अन्य पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन तथा बिकास गर्ने रहेका छन भने महोत्सवमा नेपाली ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु चिज गुरुङ, शिबहरी बुढाना लगायतले आफनाे सांगेतिक प्रस्तुति राख्ने आयाेजकले जनाएकाे छ ।
पाेखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले राेपाइ महाेत्सवले पर्यटन प्रबर्दनमा महत्वपूर्ण भुमिका खेल्ने बताउदै कृषिलाई महत्व दिएर किसानलाई हल गाेरु वितरण गरेकाे बताउनुभयाे । कार्यक्रममा शान्ति प्रेमी आमा समुहका अध्यक्ष देवी माया ढुङ्गाना, लेखनाथ उद्योग वाणिाज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने लगायतले बाेल्नुभएकाे थियाे ।