ट्रेकिङ एजेन्सी सञ्चालकहरुका लागि डिजिटल मार्केटिङ र एआई तालिम

राजु गिरी, पोखरा । पोखरामा ट्रेकिङ एजेन्सी सञ्चालकहरुका लागि डिजिटल पर्यटन प्रवद्र्धन तथा एआई तालिम सुरु भएको छ । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजना तथा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपि) अन्तरगत दिगो पर्यटन परियोजनाको सहकार्यमा तालिम गरिएको हो । तालिममा डिजिटल मार्केटिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, अनलाइन प्लेटफर्ममार्फत पर्यटन प्रवद्र्धनलगाएतका विषयमा प्रशिक्षण दिइनेछ । ४ दिनसम्म हुने तालिममा ट्रेकिङ एजेन्सी सञ्चालकहरुको सहभागिता रहेको छ ।

तालिमले ट्रेकिङ व्यवसायलाई डिजिटल युग अनुकुल बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ । सहभागिहरुले नयाँ प्रविधि, डेटा आधारित निर्णय र डिजिटल माध्यममार्फत पर्यटन व्यवसायलाई प्रभावकारीरुपमा अघि बढाउने सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले तालिम उपलब्धिमूलक रहेको हुँदा पर्यटन व्यवसायीले तालिममा सिकेका कुरा डिजिटल प्लेटफर्ममा प्रयोग गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय सबै क्षेत्रमा डिजिटल प्रविधि आवश्यक रहेको उहाँको भनाई थियो । त्यस्तै टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटन व्यवसाय  खस्किदो अवस्थामा रहेको हुदा समयअनुकुल प्रविधिको प्रयोगलाई प्रयोग गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता भएको बताउनुभयो । साथै आचार्यले तालिमले पर्यटन व्यवसाय विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि युएनडिपि गण्डकी–लुम्विनीका हेड अफ फिल्ड अफिसका प्रमुख सुदिप अर्यालले एआई ले नयाँ अवसर दिएको बताउनुभयो । एआईले दिएको अवसरलाई सदुपयोग गर्नुंपर्ने उहाँको जोड थियो । त्यस्तै टान गण्डकी पूर्व अध्यक्ष समितिका संयोजक डम्बर बहादुर केसीले तालिम निकै उपलब्धिमूलक भएकाले सैद्धान्तीक भन्दा प्राक्टिकल तरिकाको तालिमनै प्रभावकारी हुने जोड दिनुभयो । यता पोखरा वडा नं. ६ की जनप्रतिनिधि पवित्रा थापाले तालिममा एआईको कानूनी प्रावधानको बारेमा प्रशिक्षण दिन आग्रह गर्नुभयो ।

उत्घाटन सत्रमा स्वागत मन्तव्य टान गण्डकीका उपाध्यक्ष तिर्थराज सुवेदीले राख्नुभएको थियोभने कार्यक्रमको सञ्चालन टान गण्डकीका सहसचिव भुपेन्द्र लामाले गर्नुभएको थियो ।

तालिममार्फत ट्रेकिङ एजेन्सी सञ्चालकहरू डिजिटल मार्केटिङ र एआई प्रविधिमा दक्ष बन्दै जाने, यसले गण्डकी प्रदेशको ट्रेकिङ तथा समग्र पर्यटन क्षेत्रलाई प्रतिस्पर्धी र दिगो बनाउने अपेक्षा गरिएको छ । आयोजकले आगामी दिनमा यस्ता प्रविधिमैत्री तालिमलाई निरन्तरता दिँदै निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...