पोखरा, मंसिर १७ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षमा कमल थापा र राजन्द्र लिंदेनवीच प्रतिस्पर्धा हुने भएको छ । वर्तमान अध्यक्ष थापा र लिंदेनको अध्यक्षमा उम्मेदवारी परेको छ । त्यस्तै महाधिवेशनमा उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
राप्रपा निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार उपाध्यक्ष पदका लागि जगतप्रसाद गौचन, रामचन्द्र राय, लीलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठ गरी आठ जनाले मनोनयन दर्ता गराएका छन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष पदका लागि उम्मेदवारबीचमा प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी राप्रपा महामन्त्रीमा छ जनाले मनोनयन दर्ता गराएका छन् । महामन्त्रीका लागि रेखा थापा, डा. धवल शमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाहीले मनोनयन दर्ता गराएका छन् । राप्रपा महामन्त्रीमा भने एक महिलासहित तीनजना निर्वाचित हुनेछन । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको छुट्टा–छुट्टै प्यानलसहित प्रतिस्पर्धा हुनेछ ।
अध्यक्ष पदका लागि मतपत्रबाट मतदान हुने भए पनि चार उपाध्यक्ष, तीन महामन्त्री र एक सय ४९ सदस्यका लागि भने विद्युतीय मेसिनको प्रयोग हुने राप्रपा निर्वाचन समितिले जानकारी दिएको छ ।
राप्रपा केन्द्रीय सदस्यका लागि दुई सय ६४ जनाको उम्मेदवारी छ । महाधिवेशनका लागि सय वटा विद्युतीय मेसिन तयार अवस्थामा छन् । मतदानका लागि ९१ वटा मेसिन प्रयोग हुनेछ भने चार वटा मेसिन अभ्यासका लागि राखिएको छ । प्राविधिक समस्यालाई दृष्टिगत गर्दै बाँकी रहेका पाँच वटा मेसिन स्टकमा राखिएको छ ।
साँझ ५ बजेपछि उम्मेदवारीको नामावली प्रकाशन हुने बस्नेतले बताए । राप्रपा महाधिवेशनबाट निर्वाचित हुने एक सय ९९ केन्द्रीय कार्यसमितिमध्ये ५० जना सदस्य नवनिर्वाचित अध्यक्षबाट मनोनीत हुनेछन् ।