काठमाडौँ, पुस ८ गते । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ । युवा नेतृ दर्शनाले बिहीबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गर्नुभएको हो ।
दर्शनाले पार्टीमा आफ्नो समय, ऊर्जा, भावना र आर्थिक सबै कुरा प्रदान गर्न असमर्थ रहेको भन्दै राजीनामा दिनुभएको हो । उहाँले विवेकशील साझा पार्टीलाई वैकल्पिक राजनीतिको खोल मात्र ओढेको भन्दै आलोचनासमेत गर्नुभएको छ ।
‘वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु’, उहाँले राजीनामा लेख्नु भएको छ, ‘तसर्थ यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेकी छु ।’ उहाँले लेख्नुभएको छ ।विवेकशील साझा पार्टी भन्दा माथि देश (भाग १) शीर्षकमा उहाँले राजीनामा लेख्नुभएको हो ।