लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सदस्य एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार बिहान मियालाई बालकोटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्दै मियाले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य लड्ने पक्का भएको बताए ।उनले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट पक्का भएपछि एमाले प्रवेश गरेको बताए ।
मिया केपी शर्मा ओलीको नेतृत्वको सरकारमा १८ दिने युवा तथा खेलकुद मन्त्री बनेका थिए ।बारा क्षेत्र नम्बर ४ मा एमाले बाराका पुर्व अध्यक्ष देवनारायण चौधरीको प्रतिनिधि सभा सदस्यमा एकल नाम सिफारिस भएको छ ।
यसअघि पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि बारा –४ बाट प्रतिनिधि सभा सदस्य लड्ने चर्चा चलेको थियो । खनाल काठमाडौं – ६ मा प्रतिनिधि सभा सदस्य लड्ने पक्का भएपछि मिया एमाले प्रवेश गरेका हुन् ।