पोखरा, असोज १४। शिक्षा, संस्कृति र पर्यटनको क्षेत्रमा काम गरिरहेको साभ नेपाल र फ्रिडम ट्रेनिङ सेन्टरको आयोजनमा गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भयो ।
गण्ढकी प्रदेशभरिबाट सहभागी भएको उक्त प्रतियोगितामा मदरल्याण्ड मा. वि. पोखराकी कृतिक पराजुली प्रथम भएकी छन्। त्यसै गरी अमोर सेवा फेदीखोला स्याङ्जाकी अमृता गुरुङ द्वितीय, शान्ति निकेतन माविकी अदिती पराजुली तृतीय स्थान हात पारेका छन् भने सान्त्वना स्थान सिर्जना मा. वि. का अभय बस्नेत र भानुभक्त मा. वि. की स्वस्तिका क्षेत्रीले प्राप्त गरेका छन् ।
गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्य र साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गरिमा विकास बैङ्कका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी, चरक मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रदीप शर्मा लगायत विभिन्न सहयोगी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतियोगितात्मक कार्यक्रममा साभ नेपालका अध्यक्ष डा. तुलसी रामखनाल प्रभासले अभिव्यक्ति कलाबारे प्रशिक्षण समेत दिनुभएको थियो । अधिकांश विद्यार्थी कक्षा १२ बाट सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजेको विषयमा बोल्दा युवा पुस्ता विदेशमा पलायन हुन बाध्य भएको देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका थिए । प्रतियोगितामा पहिलो सत्रमा सबैले ३ मिनट आ-आफ्नो रोजाइको विषयमा बोल्न लगाइएको थियो भने दोस्रो अर्थात् फाइनल सत्रमा तीनओटा विषय दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले अब देशमा दक्ष जनशक्ति पाउन मुस्किल भैसकेको र आफ्नो बैङ्कमा महिनाको ६०-७० हजार तलब खाने कर्मचारी समेत जागिर छोडेर विदेश जाने गरेको र अब बैङ्कमा काम गर्ने कर्मचारीकै अभाव हुन थालेको भयावह अवस्थाको बारेमा बताउनु भएको थियो । सबै वक्ताको चिन्ता देशको दुरवस्था, आर्थिक मन्दी, स्वरोजगारको अभाव लगायतका विषयमा रहेको देखिएको थियो ।
प्रतियोगितामा प्रथमलाई रु १५०००/-, द्वितीयलाई रु १००००/- तृतीयलाई रु.५०००/- सान्त्वना दुई जनालाई रु २०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो ।