पोखरा, फागुन। विद्यार्थीहरूमा समयअनुसारका पर्वहरू मनाउन सिकाउने उद्देश्यका साथ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा एक समारोहबिच बुधबार सरस्वतीपूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा अवस्थित विद्याकी अधिष्ठात्री सरस्वती माताको प्रतिमामा अबिर, पुष्पमाला, पुष्पगुच्छा, आरती आदिका साथ पूजाआराधाना गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा कक्षा चार र पाँचका विद्यार्थीहरू विमर्श पराजुली, अनुराधा शर्मा, कृतिका पराजुली, मञ्जिला त्रिपाठी, ओमिषा गिरी, दस कश्यप र रोजी ढकालद्वारा सरस्वती स्तोत्र वाचन गरिएको थियो ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख गरिएको कुरा व्यक्त गर्दै पण्डित शिव लम्सालले विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्ने चलन भएको बताए।
कक्षा चारमा अध्ययनरत छात्रा एलिना पण्डितले कर्ताको भूमिका निर्वाह गरेको उक्त कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, शिक्षक/कर्मचारी तथा भक्तजनहरूले लाइनमा बसेर पालैपालो पूजा गरेका थिए भने विद्यालयले हरेक वर्ष वसन्तपञ्चमीका दिन सरस्वतीको पूजाआराधाना गर्दै आएको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए।
सम्बन्धित खवर
टिप्पणिहरु