नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गर्‍यो : मुख्यमन्त्री अधिकारी

पोखरा ,जेठ ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताउनुभएको छ । गणतन्त्र दिवसको छेको पारेर पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यो अवधिसम्म आइपुग्दा गणतन्त्र परिपक्क दिशातर्फ जाने आधारहरु देखिएको दावी गर्नुभयो ।


‘मताधिकार पाउन १८ वर्ष लाग्छ, नागरिकता पाउन १६ वर्ष लाग्छ, त्यसकारण यो किशोर अवस्थामा छ, शैशव अवस्थामा होइन’ अधिकारीले भन्नुभयो ।
नेपालीले २००७ सालबाट देखेको गणतन्त्रको सपना २०६५ सालमा आएर पुरा भएको भन्दै यसमा सबै नेपालीको स्वामित्व रहेको खुलाउनुभयो । जनताका अपेक्षा बढी र साधनस्रोत कम हुँदा अपेक्षाकृत प्रगति हुन नसकेको जस्तो देखिए पनि आमूल परिवर्तको दिशामा अगाडि बढेको जिकिर गर्नुभयो । ‘हजारौं किलोमिटर बाटो पक्की बनेका छन्, सयौं संख्यामा पूल र झोलुङ्गे पूल बनेका छन्, स्वास्थ्य सेवाहरु गुणस्तरिय बन्दै गएका छन्’ उहाँले भन्नुभयो ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल भएपनि पुनः जागृत हुन थालेको भन्दै  प्रदेश आन्तरिक स्रोतबाटनै आत्मनिर्भर हुनको लागि सर्घषरत रहेको खुलाउनुभयो ।
‘हामीसँग चुनौती भनेको प्रदेश आफ्नो आन्तरिक स्रोतबाट कसरी आत्भनिर्भर हुने भन्नेमा हो, त्यसमा सर्घषरत छौं’ उहाँले थप्नुभयो ।
तीव्र गतिका साथ हिड्न खोजेको भएपनि संरचना तथा मनस्थिति त्यस अनुसार नपाएको मुख्यमन्त्री अधिकारीको गुनासो थियो । उहाँले  सुशासन प्रति आफ्नो बढी चासो रहेको खुलाउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको प्रम्ख सचिव लक्ष्मी कुमारी बस्नेतले प्रदेशको प्रशासन हाँक्ने जिम्मालाई कुशलतापूर्वक निर्वाह गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । ‘काम गर्दै जाँदा सहज–असहज हुन्छ नै । असहजलाई पनि सहजतामा परिणत गर्नसक्नु पर्छ । समस्याको समाधान गर्दै सोही अनुसार अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो ।
आफूहरुले नीति, नियम, ऐन, कानून र योजना अनुसार नै कार्य गर्ने गरेको उहाँले खुलाउनुभयो । कुनै पनि काम समयमा सम्पन्न हुन न्युनतम प्रक्रिया पुरा गर्नुपर्ने भएकोले प्रक्रियामा केही समस्या भए संसोधन गर्नुपर्ने तर कर्मचारीमाथि मात्र दोष थुपार्न नहुनेमा उहाँको जोड थियो ।
‘काम गर्न न्युनतम प्रक्रिया पुरा गर्नुपर्छ, प्रक्रिया तथा ऐनमा बाधा अड्चन छ भने संसोधन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

 

सेवाग्राहीको काममा सहजता प्रदान गर्नको लागि ऐन कानून संसोधन गरेर सहज रुपमा सेवा लिने वातावरण बनाउनुपर्ने उहाँको तर्क थियो  । उहाँले कामलाई प्रक्रियामुखी नबनाइकन नतिजामुखी बनाउनुपर्ने बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझाले गणतन्त्रको अनुभूति जनतालाई गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभयो । स्थानीय निकायका कारण गाउँ–गाउँ विकास पुगेको उहाँको भनाई थियो । कोरोनाको समयमा गाउँपालिकाले गरेको कार्यले त्यसलाई पुष्टि गर्ने उहाँले खुलाउनुभयो ।
‘मेरो गाउँपालिकामा म आउँदा १ सय २ घरमा खानेपानी पुगेको थियो, अहिले ९९ प्रतिशत घरमा खानेपानी पुगेको छ । सबै पालिकाले यसरी नै काम गर्नुभएको छ’ उहाँको दावी थियो ।पालिकाले कृषि एम्बुलेन्स, एम्बुलेन्स, अस्पताल सञ्चालन गरेका मात्र नभएर पर्यटन तथा पूर्वाधारको क्षेत्रमा समेत उतिकै काम गरेको बताउनुभयो ।
‘राज्यले जतिबेला जुन उद्धेश्यका साथ सकेसम्म सबै सेवा संरचनाहरु जनताको पहुँचमा पु¥याउने भनेर गणतन्त्र स्थापना ग¥यो । त्यसको महशुस स्थानीय सरकारले गराइरहेको छ, एउटा न एउटा सेवा स्थानीय निकायबाट नपाएका घर छैनन्’ उहाँको भनार्ई थियो ।

 

यति हुँदा हुँदै पनि स्थानीय सरकारले गर्ने काममा सुधार गर्नुपर्ने अवस्थामा भने रहेको बताउनुभयो । सकारात्मक रुपमा हेर्ने हो भने गणतन्त्रको बलियो खम्बा स्थानीय सरकार भएको उहाँको तर्क थियो । स्थानीय निकायले खानेपानी, कृषि,  स्वास्थ्य सचेतना, समावेशीता लगायतका क्षेत्रमा उदारणीय कार्य गरेको उहाँले खुलाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गणतन्त्र स्थापनासँगै जनाताले विभेदको अन्त्य भई सबैले समान अवसर प्राप्त गर्छौ भन्ने अपेक्षा गरेको र त्यो आंशिक रुपमा पुरा भएको बताउनुभयो ।
‘यो विगत १६ वर्षको उपलब्धिलाई विभिन्न कोणबाट हेर्न जरुरी छ । नेपालको राजनीतिक प्रणालीलाई बहुलवाद प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास ग¥यो । स्वच्छ प्रतिष्पर्धा गर्न आफूलाई उभ्यायो’ उहाँले भन्नुभयो ।
सरकार जवाफदेही भएर जिम्मेवारीपूर्वक काम गर्दै कानूनी राज्यको स्थापनाको लागि अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । अब देशलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने उहाँले बताउनुभयो । गणतन्त्रबाट प्राप्त उपलब्धिलाई जतन गर्न जरुरी भएको उहाँले खुलाउनुभयो ।
‘गणतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको भुँइतहका जनताको जनचेतना अभिवृद्धिलाई चरम सीमामा पु्र्‍याएको छ । हरेक क्षेत्रमा दबाब दिन सक्ने अधिकार दिएको छ । बहस गर्न सक्षम तुल्याएको छ’ उहाँले भन्नुभयो ।
गणतन्त्रले महिला शसक्तिकरण, सामाजिक चेतना, शैक्षिक स्वास्थ्य क्षेत्रमा जागरण अभियान ल्याउन सफल भएको उहाँले खुलाउनुभयो ।
शिक्षा र अर्थतन्त्रको क्षेत्रमा समेत प्रगति भएको भन्दै उपलब्धिलाई दिगो बनाउन जरुरी रहेकोमा उहाँको जोड थियो । जनस्वास्थ्य, मातृस्वास्थ्य, बाल स्वास्थ्यमा समेत देश अग्रस्थानमा रहेको उहाँले सुनाउनुभयो ।
‘हामी आर्थिक समृद्धि तर्फ उन्मुख छौ । मुलुकको भुगोलको कारणले जनसंख्याको लगायतका कारणले आर्थिक वृद्धिदरमा अपेक्षाकृत फड्को मार्न सकेका छैनौ’ उहाँले भन्नुभयो ।
‘गणतन्त अगाडि रोलमोडल महिला हुदैनथ्यौं, हामी एक्लै हुन्थ्यौं । आज हामीसँग प्रशस्त रोल मोडलहरु हुनुहुन्छ । त्यो दृष्टिकोणबाट हेर्दा केही प्राप्त गरेका छौँ भन्ने लाग्छ’ उहाँले भन्नुभयो ।गाउँपालिका तथा वडाहरुमा महिला सशक्तिकरणका मुद्दा तथा अपाङ्गताका मुद्दालाई संवेदनशील भएर बुझ्ने र हेर्ने थालिएको उहाँको भनाई थियो  ।
‘विद्यालयमा प्रधानध्यापक महिला, सञ्चारमाध्यम, गैरसरकारी संस्थामा महिला नेतृत्व हुन थालेका छन् यी सकारात्मक उपलब्धि हुन् यस्ता उपलब्धि प्रशस्त छन्’ उहाँले भन्नुभयो ।  उपलब्धिमा मात्रमा चित्त बुझाएर बस्न नहुने भन्दै व्यवस्था फेरियो र अवस्था फेरियन भन्ने ठाउँ पनि प्रशस्त रहेको खुलाउनुभयो ।
‘महिलाको समान सहभागीताको अपेक्षा गरेका थियौ । सबैभन्दा पछि आउने राजनीतिक दलमा महिला सहभागीता झनै दयनीय अवस्थामा देखिन्छ । गाउँपालिका वडादेखि केन्द्रसम्मको अवस्था त्यहीं छ’ उहाँको गुनासो थियो ।
विभिन्न ठाउँमा पुरुष नै नेतृत्वमा हुनुपर्छ भन्ने मान्यता अझै हट्न नसकेको भन्दै गणतन्त्रको पूर्ण अनुभूतिको लागि सबै ठाउँमा समान सहभागीता हुनुपर्ने प्रष्ट पार्नुभयो ।
‘गणतन्त्रको डेढ दशक : उपलब्धि र चुनौती’ शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार समेत रहनुभएका सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

 

 अन्तरक्रियाको आयोजना सामाजिक विकास तथा स्वास्थय मन्त्रालय गण्डकी प्रदेशले गरेको हो । गणतन्त्र दिवसको अवसरका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराले मंगलबार विशेष कार्यक्रम समेत आयोजना गर्दैछ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...