निवर्तमान मुख्यमन्त्री अधिकारीले देखाए उच्च राजनीतिक संस्कार

पोखरा, जेठ ।गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको मुल समारोहमा विपक्षी दलको लागि राखिएको कुर्सी खाली देखिएपछि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भनेका थिए- ‘यो प्रदेश प्रतिको जिम्मेवारी हामीमा छ । हामी कहींपनि बहिष्कार गर्दैनौ । अनुचित कुरा स्विकार पनि गर्देनौं । कुर्सी खाली गर्नूपरेको अवस्थामा गम्भिरतापूर्वक तीनपटक सोच्छौं ।’

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डे सहित दुईजना मन्त्रीको सपथ ग्रहण कार्यक्रम बुधबार पोखरा सभागृह हलमा आयोजना गरियो ।

 

पाण्डेले दायर गरेको रिटको कारण सत्ता गुमाउन पुगेका निवर्तमान मुख्यमन्त्री अधिकारी सपथ ग्रहण कार्यक्रममा सहभागी हुँदैनन् होला भन्ने धेरैको अनुमान थियो । हुनपनि यसअघि उनले मुख्यमन्त्रीको सपथ लिदा होस् वा पछि मन्त्रिपरिषद विस्तार हुँदा मन्त्रीले सपथ लिने कार्यक्रममा होस् प्रतिपक्षी दलको उपस्थिति थिएन । प्रदेश सभा बैठक समेत बहिस्कार गरेका थिए । सोही कारण प्रतिपक्षी कुर्सी खाली हुनसक्ने आशंका बिहीबार पनि थियो ।

 

तर, अधिकारीले सपथ ग्रहण कार्यक्रममा सहभागी बनेर आफ्नो जिम्मेवारी पूरा गर्दै उच्च राजनीतिक संस्कार देखाएका छन् । उनले हात मिलाएर पाण्डेलाई बधाई समेत दिए । उनले देखाएको यो संस्कार अन्य नेताको लागि पनि सिकाइ हुनसक्छ । सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका सहभागीले अधिकारीले देखाएको व्यवहारको प्रशंसा गरे । मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी सहितका सुविधा समेत अधिकारीले अदालतको निर्णय थाहा पाउँदा साथ फिर्ता गरेका थिए।

 

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले अब ३० दिनभित्र अर्थात असार १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

उनलाई विश्वासको मतको लागि आवश्यक पर्ने ३१ सांसद पुर्‍याउन हालको स्थितिमा सम्भव देखिदैन । उनलाई हालसम्म क्रांगेसको २७ जना सांसदको मात्र समर्थन छ । २ सांसद रहेको राप्रपाले सरकारलाई समर्थन गर्ने सम्भावना भएपनि त्यो विश्वासको मतको लागि पर्याप्त हुँदैन । नेकपा (एमाले) का २२ सांसद, माओवादी केन्द्रका ८ सांसद (सभामुख समेत) र राजीव गुरूङ गरेर ३१ जना अधिकारी नेतृत्वको गठबन्धनमा छन् ।

 

पाण्डेले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठन प्रक्रिया सुरु हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...