
महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए । देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको उनले बताए ।
ड्यामसाइडदेखि गैराको चौतारा सम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुने छ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत महोत्सवमा समेटिने छन् ।
महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनाहरुलाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिटै गरिने संघले स्पष्ट पारेको छ । पछिल्लो क्रममा स्तरोन्नती हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँ बर्ष मनाउन पोखरा आउन आव्हान गरे । निकट भविश्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य राष्ट्र जोड्ने गरी उडान हुने तयारी भइरहेको आफूहरुलाई जानकारी प्राप्त भएको बताउँदै सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आसावादी भएको सुनाए ।
महोत्सवलाई व्यवस्थित रुपमा अगाडि बढाउन आयोजक समितिले हालै पोखरामा एक कार्यक्रमको आयोजना गरी उपसमितिका संयोजकहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको थियो । संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सवको सहसंयोजकका रुपमा रहेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ ।