पोखरा, फागुन १४ गते ।पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नेछन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ ।
सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्घाटन समारोहमा अनिल शाही र समूहको विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ ।
उद्घाटन समारोहपछि दिउँसो १ बजेदेखि भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमी’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्नेछन् । अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रीत संवाद गर्ने भारीले जानकारी दिए ।
भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए ।
भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सुःख–दुःख सुनाउने छन् । उक्त सत्रको सहजकर्ता निर्मला शर्मा रहेकी छन् । अलिमियाँ कक्षमा सोही समयमा केशवशरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रीत रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गर्नेछन् ।भूपी कक्षमा साँझ ५ बजेदेखि ६ बजेसम्म ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति रहने छ ।
त्यस्तै अलिमियाँ कक्षमा गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङसँग गण्डकीका गुरूङ र मगर भाषाको विषयमा संवाद गर्नेछिन् ।
कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ ।
यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।
८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । फेस्टिभलले उपलब्ध गराएको मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने आयोकजक बुकवर्मको अपेक्षा छ ।