पोखरा, बैशाख ११ ।पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ।

बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा सयौं स्थानीयवासी, युवा, र साइक्लिङ मा उत्साहजनक सहभागिता रहेको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको बताउनुभयो। “यो र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्द्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,” उहाँले भन्नुभयो। उहाँले र्यालीमा सहभागी सबैलाई धन्यवाद दिँदै पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन आह्वान गर्नुभयो।
मानवसेवा फाउण्डेशनका अनुसार, कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कशेली यात्रा आयोजना हुने कार्यक्रम रहेको छ।
यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ। र्यालीले स्थानीय समुदायमा उत्साह तथा उर्जा समेत थपेको छ।
४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेशनले जनाएको छ ।
कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । आज गत शुक्रबार देखि देबी प्रतिभाले भागवत प्रबचन दिनहु दिइरहेकी छिन।
कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।
महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ। यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् – जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् ।
गण्डकी कोटिहोम महायज्ञले केवल स्थानीय जनताको धार्मिक विश्वाससँग मात्र सम्बन्ध नराखी, यो कार्यक्रम क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। पोखरा आफैँ पर्यटकीय राजधानीका रूपमा चिनिन्छ, र यस्ता धार्मिक अनुष्ठानहरू पर्यटकहरूलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण आधार बन्न सक्छन्।
सो अवसरमा विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन तथा अध्यात्मिक प्रेमीहरूको उपस्थिति अझ उल्लेखनीय रहेको छ ।दिनहुँ विशेष अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समिति अनुसार १६ गते पछाडी विभिन्न राष्ट्रियस्तरका धार्मिक वक्ताहरू तथा कलाकारहरूको उपस्थिति रहनेछ।
गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानको रूपमा सीमित नरही, समाजमा सहकार्य, समर्पण र सद्भावको नयाँ आयाम खोल्ने माध्यम बनेको छ।
यस महायज्ञले केवल केही दिनको कार्यक्रम नभई, लामो समयसम्म स्मरणीय रहने एक सांस्कृतिक दस्तावेज तयार गरिरहेको अनुभूति सहभागी हरेक व्यक्तिले गरिरहेका छन्। जनप्रतिनिधि, स्थानीय अगुवा, स्वयंसेवक, महिला समूह, बालबालिका तथा वरिष्ठ नागरिक—सबैको सहभागिताले यो कार्यक्रमलाई सम्पूर्ण पोखरेली समाजको साझा चाड बनाएको छ।