पोखरा, साउन ६ गते । पोखराको चाउथेमा झोलाभित्र मृत अवस्थामा फेला परेको नवजात शिशुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८१ साल असोज १३ गते साँझ साढे ५ बजेतिर पोखरा–१४ चाउथेस्थित पृथ्वीराजमार्ग छेउमा जेब्रा झोलाभित्र नवजात शिशुको शव फेला परेको थियो।
फलाटिनको कपडा र रातो–गुलाबी ब्लाङ्केटले बेरिएको अवस्थामा फेला परेको उक्त शवको पोष्टमार्टम पश्चात शिशुको टाउको र घाँटीमा चोटका कारण मृत्यु भएको प्रारम्भिक प्रतिवेदन आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा मृतक शिशुका पिता नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुङ्गा बसोबास गर्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने घटनामा संलग्न देखिएपछि पक्राउ गरिएको हो।
लामिछानेलाई उनकी श्रीमतीलाई सुत्केरी पीडाका लागि उपचार गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका बेला साउन ४ गते पक्राउ गरिएको हो।प्रहरीले लामिछानेलाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको जनाएको छ।