पोखरा । पोखराको फेवा सिटी हस्पिटल र राष्ट्रिय युवा संघ नेपाल, केन्द्रिय स्वास्थ्य विभागबीच सदस्य तथा उनीहरूका परिवारका लागि छुटसहितको उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ।
बिहीबार सम्पन्न सम्झौता कार्यक्रममा फेवा सिटी हस्पिटलका सन्तचालक दिनेश बाबु खड्का र राष्ट्रिय युवा संघ नेपाल, केन्द्रिय स्वास्थ्य विभागकी प्रमुख सरस्वती पूरीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार, संघमा आवद्ध सदस्यहरू, तिनीहरूका बाबुआमा, श्रीमती/श्रीमान, छोरा–छोरी तथा महिला सदस्यहरूका सासु–ससुरालाई समेत अस्पतालमा छुट सहितको उपचार सुविधा प्रदान गरिनेछ ।
सम्झौता अनुसार संघले आफ्ना सदस्यहरूको परिवार विवरण खुल्ने परिचयपत्र वा सिफारिस उपलब्ध गराउनु पर्नेछ।
ओपीडी टिकट बाहेक फार्मेसीमा ५% छुट र अस्पतालबाट प्रदान गरिने अन्य सेवाहरूमा १०% छुट पाउने सम्झौता भएको विभागकी प्रमुख सरस्वती पुरीले जानकारी दिइन्।
यो सम्झौता २०८२ भदौ १ गतेदेखि लागू भई ५ वर्षसम्म लागू हुनेछ । दुवै पक्षले आपसी सहकार्यलाई सुदृढ गर्दै समाजसेवामूलक उद्देश्यले यो सम्झौता गरिएको बताएका छन् । यसबाट संघका हजारौं सदस्यहरू र तिनीहरूको परिवारलाई गुणस्तरीय तथा सुलभ उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।