रामप्रसाद खनाल
नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणबाट गुज्रिरहेको छ। विचार, सिद्धान्त र संगठनको जगमा उभिनुपर्ने राजनीति अचेल लाइक, सेयर र कमेन्टको चक्रव्यूहमा फसेको छ। खासगरी राजनीतिक दलका जिम्मेवार पदाधिकारी र नेताहरूको व्यवहार हेर्दा लाग्छ , उनीहरू जनताका लागि होइन, सामाजिक सञ्जालमा भ्यु र सस्तो लोकप्रियताकालागि राजनीति गरिरहेका छन्।

नेकपा एमालेको ११ औं महाधिवेशन सकिएको २/४ दिन मात्र भएको छ । यो बिचमा केन्द्रीय कमिटीको प्रथम बैठक बसेको छ ।भने कमरेड इश्वर पोखरेलले महाधिवेशनको समिक्षाका नाममा गुटको भेला गर्नु भएको छ । उक्त गुट भेलाले महाधिवेशन हार्नुको कारणको देशैभरी समिक्षा गर्ने र आत्मसमर्पण नगर्ने फरमान जारी गरेको छ । यति नै वेला सम्माननीय पूव राष्ट्रपतिले एउटा टेलीभिजनमा अन्तर्वार्ता दिदै पुनः राजतन्त्र आउन सक्ने कुरा गर्नु भएको छ ।
यसकै सेरोफेरोमा एउटा रोचक दृश्य देख्न र सुन्न पाइएकोछ । एउटै पार्टी, एउटै सचिवालय र एउटै कमिटीमा रहेका एक पदाधिकारीले आफ्नै पार्टीका महासचिवलाई फोनबाट ध्यानाकर्षण गराएको विषयलाई सामाजिक सञ्जालमा तामझामका साथ पोस्ट गरे। अचम्म त के छ भने, ती दुई नेताबीचको भौतिक दुरी मुस्किलले आधा–एक घण्टाको थियो। अझ केही बेरमै उनीहरू एउटै कार्यकक्षमा सरकारका प्रतिनिधिहरूसँग तस्बिर खिचाएको देखियो ।
यस्तो प्रवृत्तिले केही गम्भीर प्रश्नहरू उब्जाएको छ। के आफ्नै नेतृत्वसँग संवाद गर्न अब सामाजिक सञ्जालकै सहारा लिनुपर्ने अवस्था आएको हो कि यो केवल सस्तो लोकप्रियता कमाउने स्टन्ट मात्रै हो ? प्रश्न उब्जिएको छ ।
पार्टीभित्रका आन्तरिक छलफल, असहमति वा सुझाव राख्ने निश्चित विधि र पद्धति हुन्छन्। सचिवालयको सदस्य हुनुको नाताले ती नेताले महासचिवको कार्यकक्षमै गएर वा बैठकमा आफ्ना कुरा राख्ने पूर्ण अधिकार राख्छन् । तर त्यसो नगरी फेसबुकमा यसो गरें र उसो गरें भन्दै गरिने नाटकले पार्टीको आन्तरिक जनवादलाई बलियो बनाउँदैन, बरु रित्तो बनाउँछ । नेताको व्यक्तित्वलाई घटाउछ । जबजब यस्ता पोस्टहरू आउँछन्, केही अनलाइन सञ्चारमाध्यमहरूले त्यसलाई ठुलै विग्रह वा क्रान्तिकारी कदमका रूपमा व्याख्या गरिदिन्छन्। नेताहरू मख्ख पर्छन्। तर कार्यकर्ताहरु चिन्तित हुन्छन् ।
आम जनताले भने यसलाई नाटक बाहेक केही देख्दैनन् तर विरोधीहरुलाई प्रचारको मसला बन्छ उनिहरु खुसि हुन्छन् । एउटै कार्यालयमा बस्नेहरूबीच पनि सामाजिक सञ्जालमार्फत संवाद हुनु भनेको पार्टीको आन्तरिक जीवन कतिसम्म बिग्रेको हो जस्तो प्रचारप्रसार हुन्छ । के यो केन्द्रीय कमिटीको प्रथम बैठक पछिको गुट भेला र त्यसको निर्णय महाधिवेशनको समिक्षा देशैभरी गरिन्छको असर त होइन ?
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य बोकेको र निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प गरेको पार्टीको भित्र यस्ता अपरिपक्व व्यवहारहरू देखिनु विडम्बनापूर्ण छ। जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले अनुशासित र पद्धतिबद्ध संगठनको परिकल्पना गर्छ। तर आज नेताहरूको ध्यान संगठन निर्माणमा भन्दा पनि कसरी भाइरल हुने भन्नेतर्फ मोडिएको देखिन्छ।
यसलाई राजनीतिको भाषामा ‘पपुलिजम’ भनिए तापनि व्यवहारमा यो ‘लाजनीति’ मात्र हो। आफ्नै नेतृत्वलाई सार्वजनिक रूपमा घेराबन्दी गरेको जस्तो देखाएर विरोधीका माझ हिरोबन्ने मोहले पार्टीलाई नै कमजोर बनाउँछ । राजनीतिमा गम्भीरता, गोपनीयता र मर्यादाको ठुलो महत्त्व हुन्छ। जब नेताहरू नै यी मूल्यहरू बिर्सेर क्यामेरा र सामाजिक सञ्जालका लागि पोज दिन थाल्छन्, तब जनताको विश्वास धर्मराउन सक्छ ।
त्यसैले नेतृत्वले बुझ्न के जरुरी छ भने राजनीति फेसबुकको भित्तामा होइन, जनताको मनमा र संगठनको जगमा गरिन्छ । हाई–हाई कमाउने लोभमा गरिने यस्ता नाटकीय ध्यानाकर्षणले न त दबाब पुग्छ, न त पार्टीलाई नै फाइदा हुन्छ। यसले त केवल राजनीतिको स्तरलाई मात्र खस्काउँछ । अब पनि नचेत्ने हो भने, कार्यकर्ताले यसलाई आन्तरिक जनवाद होइन, विचलन र अराजकताका रूपमा बुझ्नेछन् । केही गर्ने हामी जस्ता भूइंमान्छेले चिन्ता गरेर के नै हुन्छ र ? हामीले त सुझावलाई मात्र दिने हो । आंगे तपाईंहरू कै ईच्छा !