अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता


पोखरा । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भमा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा तथा सुरक्षित आप्रवासन कार्यक्रमको आयोजनामा ‘सुरक्षित वैदेशिक रोजगारी’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख आतिथ्यता पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले गर्नुभएको थियो ।

प्रतियोगितामा २२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा अदिती पराजुली (मदर ल्यान्ड माध्यमिक विद्यालय) प्रथम, सृष्टि क्षेत्री (केफ माध्यमिक विद्यालय) द्वितीय र उत्सवी सुवेदी (बाल प्रभात बोर्डिङ स्कुल) तृतीय स्थान हासिल गर्न सफल भए। त्यस्तै, एलिसा भुसाल (बालोदय माध्यमिक विद्यालय) र निश्मा गुरुङ (त्रिवेणी पब्लिक माध्यमिक विद्यालय) ले सान्त्वना स्थान प्राप्त गरे ।

विजेता तथा सहभागी विद्यार्थीहरूलाई जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देविप्रसाद वास्तकोटीले खादा तथा टीका लगाइदिनुभएको थियो भने कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले प्रथम, द्वितीय, तृतीय, सान्त्वना तथा सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा पृथ्वीनारायण क्याम्पस पोखराका उप-प्राध्यापकहरू सुरज पौडेल र केशव शरण पराजुली तथा शिक्षा महाशाखाका सोम नाथ भण्डारी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन रोजगार संयोजक विष्णु प्रसाद दाहालले गर्नुभएको थियो भने कार्यक्रम संयोजकको भूमिका अधिकृत आदिम श्रेष्ठले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीको महत्व, आप्रवासनका जोखिम तथा सचेतनाका विषयमा विद्यार्थीहरूले विचार प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...