पाेखरा ।खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २ संस्करण पोखरामा सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।सो क्रममा नगर प्रमुख आचार्यले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि विभिन्न पहलहरू गरिएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनः सञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणहरूमा समाधान केन्द्रित छलफलहरू गरिएको उहाँले बताउनुभयो । पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडानलाई अझ व्यवस्थित बनाउन व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

सुरक्षाको पक्षलाई मजबुत बनाउँदै पर्यटकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयो । पोखरा साहसिक गतिविधिका कारण परिचित रहेको उल्लेख गर्दै यसको गरिमा कायम राख्न उहाँले अपिल गर्नुभयो ।प्रतियोगितामा नेपाल सहित विभिन्न ७ देशका १४ महिला सहित ९० जना प्याराग्लाइडिङ पाइलटहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनानका खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगिता एक्युरेसी विधामा मात्र सञ्चालन गरिएको छ । सराङकोटबाट टेकअफ भएका ग्लाइडरहरु फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्यान्डिङ हुनेछन् ।

व्यक्तिगत तर्फ प्रथम हुनेले पुरुष तर्फ १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । समूहतर्फ प्रथम हुने टोलीले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिला तर्फ विजेता हुनेले ७५ हजार, उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् ।
नेपाल हवाई खेलकुद संस्थाले करिब २० वर्षदेखि निरन्तर नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। केही वर्षयता यो प्रतियोगिता अन्तर्राष्ट्रिय हवाई खेल महासंघ (FAI) को Category II मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको छ।कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलो उडानमा लगाएको रोकका कारण केही समय रोकिएको प्रतियोगिता यस वर्ष पुनः आयोजना गर्न लागिएको हो। प्रतियोगिताबाट पर्यटन प्रवर्द्धन, खेलाडीको क्षमता विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
मौसमलाई ध्यानमा राखेर प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितास्थलमा मौसमसम्बन्धी जानकारीसहित खेलाडीलाई आवश्यक निर्देशन दिइनेछ। सुरक्षा व्यवस्थाका लागि स्वयंसेवक, उद्धार टोली, सशस्त्र प्रहरी, नेपाली सेना, मोटरबोट, स्वास्थ्य सामग्री र चिकित्सकको व्यवस्था गरिने प्राविधिक समिति संयाेजक याेगेश भट्टराइले जानकारी दिए ।उनका अनुसार सहभागी सबै खेलाडीको अनिवार्य बीमा पनि गरिने आयोजकले जनाएको छ।