एकराज गिरी/पोखरा ।गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले क्षयरोग प्राणघातक रोग भएकाले यसको न्यूनिकरण र नियन्णका लागि प्रयास गरिरहेको बताएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज क्षयरोगको अवस्था विश्लेषण तथा तथ्यांक सार्वजनीक कार्यक्रममा बोल्दै उनले भने,“क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकारले आफनो अभियान संचालन गर्दे ग्रामीण क्षेत्रका दुरदराजमा पुगेर खोजि गर्ने र जाँच गर्ने काम गरिरहेको छ ।” उनले यो रोगलाई न्यूनिकरण, नियन्त्रण र पूर्णरुपमा निर्मुल गदै काबुमा राख्न प्रयास गरिरहेको बताए ।

क्षयरोग विशेष गरि आर्थिक रुपमा अभाव भएका ठाँउ र घना बस्तीहरुमा बढि भेटिएको बताउदै मन्त्री पाठकले जनस्तरमा चेतनामुलक कार्यक्रमहरुको खाँचो रहेको बताए । आभाव र घनाबस्ती भएका स्थानमा यस प्रकारका रोगीहरु फेला परेको र जनचेतना मार्फत कम गर्न सकिन्छ मन्त्री पाठकले भने,“उपचार गरेर यो रोग निको बनाउन सकिन्छ भन्ने कुरालाई जनस्तरमा पु¥याउन आवश्यक रहेको छ भन्ने विषयलाई आत्मसाथ गर्दै तीनै तहका सरकार क्षयरोगको न्यूनिकरण र नियन्त्रणको प्रयासमा लागेका छौँ ।” मन्त्री पाठकले सुरुवा रोग भएकाले विशेष गरी बाग्मती, मधेश, लुम्विनी र गण्डकीमा बढि विरामी रहेको बताउदै प्रत्येक वर्ष ३५ हजार भन्दा बढि फेला पार्ने र ७० हजारको उपचार गर्नुपर्ने अवस्था रहेको बताए । क्षयरोगले फोक्सोमा असर गर्ने भएकाले यो नियन्त्रण गर्न अभियाननै संचालन गरिरहेको मन्त्री पाठकले बताए ।

गण्डकी प्रादेशिक रोग नियन्त्रण केन्द्रको आयोजनामा जनचेतनामुलक ¥याली, क्षयरोगीलाई फलफुल वितरण तथा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाइएको हो । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा क्षयरोग अझै पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको बताए । प्रदेशमा प्रत्येक वर्ष करिब ५ हजार ५ सय ४ जना नयाँ क्षयरोगका बिरामी हुने अनुमान गरिएको छ। तर आर्थिक वर्ष २०८१÷८२ मा जम्मा २ हजार ८ सय १ जना मात्र बिरामी पहिचान भई उपचारमा आएको गण्डकी प्रादेशिक रोग नियन्त्रण केन्द्रका क्षयरोग, एचआइभी तथा नसर्ने रोग सम्वन्धि सम्पर्क ब्यक्ति सन्तोष पौडेलले जानकारी दिए ।
प्रदेशका कास्की र नवलपरासी जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन्। यी दुई जिल्लामा मात्रै प्रदेशका कुल बिरामीमध्ये करिब ४७ दशमलव ३ प्रतिशत रहेका छन्। उनका अनुसार क्षयरोगको उपचार ‘प्रत्यक्ष निगरानीमा छोटो अवधि उपचार विधि’ (डट्स) बाट गरिन्छ। यस विधिमा बिरामीले कम्तीमा ६ महिना नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। समयमै र पूरा उपचार गरेमा क्षयरोग पूर्ण रूपमा निको हुन्छ। तर बीचमै औषधी छोड्दा औषधीले काम नगर्ने (औषधी प्रतिरोधी) क्षयरोग हुने जोखिम बढ्छ, जसको उपचार अझै जटिल र लामो हुन्छ ।
सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको औषधी निःशुल्क रुपमा उलब्ध गराइने पौडेलले बताए । गण्डकी प्रदेशमा ८ सय २९ वटा डट्स केन्द्र, ३ वटा औषधी प्रतिरोधी उपचार केन्द्र, १ वटा उपचार तथा सन्दर्भ केन्द्र, १ सय १ वटा माइक्रोस्कोपी केन्द्र र १० वटा जिन एक्सपर्ट केन्द्र सञ्चालनमा रहेका छन् । जिन एक्सपर्ट प्रविधिबाट करिब २ घण्टामै क्षयरोग तथा औषधी प्रतिरोधी अवस्था पत्ता लगाउन सकिने सक्पर्क ब्यक्ति पौडेलले बताए । उनका अनुसार राज्यले एक जना क्षयरोगीका लागि एक लाख २३ हजार रुपैयाँ लगानी गर्ने गरेको छ ।
क्षयरोगका मुख्य लक्षणहरूमा दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु, बेलुका ज्वरो आउनु, तौल घट्नु, भोक नलाग्नु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु र खकारमा रगत देखिनु पर्दछन्। यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। रोकथामका लागि बिरामीको छिटो पहिचान र उपचार, नियमित औषधी सेवन, सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण, जन्मसँगै बीसीजी खोप, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, मास्क प्रयोग गर्ने तथा धुलो, धुवाँ र भीडभाडबाट टाढा रहने जस्ता उपाय अपनाउनुपर्ने बताइएको छ।
हरेक वर्ष चैत ११ (मार्च २४) मा विश्व क्षयरोग दिवस मनाइन्छ । सन् २०२६ मा “हामी सक्छौँ, क्षयरोग अन्त्य गर्छौँः देशको नेतृत्व, हाम्रो साथ” भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइएको हो । सरकारले क्षयरोगका बिरामीलाई उपचार अवधिभर मासिक ५०० रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ भने औषधी प्रतिरोधी बिरामीलाई थप सुविधा समेत प्रदान गर्दे आएको छ। त्यस्तै औषधी प्रतिरोधी क्षयरोग डिआर विरामीहरुलाई उपचार अवधिभर पोषण भत्ता एक हजार होस्टल बस्नेलाई र आफनै घरमा बस्नेलाई तीन हजार मासिक रुपमा उपलब्ध गराउदै आएको छ ।