पोखरा । पोखरा महानगरपालिका–१८ मा अवैध रूपमा आयोजना गरिएको ट्रान्स पार्टीमा संलग्न ३८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा गरिएको संयुक्त अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार मिति २०८२ चैत १७ गते राति करिब १:३० बजे वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्यूरो, पोखराको संयुक्त टोलीले छापा मार्दा उक्त पार्टी सञ्चालन भइरहेको अवस्थामा विभिन्न देशका व्यक्तिहरू पक्राउ परेका हुन्।
कारबाहीका क्रममा ८ जनाको साथबाट एमडीएमए (MDMA), चरेश, कोकिन, खात, आइस (एम्फेटामिन), म्याजिक मशरुम र एलएसडी जस्ता लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। ती लागुऔषधसहित पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
त्यसैगरी, ४ जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने बाँकी २६ जनालाई आवश्यक सोधपुछपछि अभिभावक तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रान्स पार्टी आयोजना गर्ने मुख्य संचालकहरूमध्ये नेपाली नागरिक बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्मासहित अन्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।