फिर्केखोला : मुहानदेखि फेवातालसम्म प्रदूषणको पीडा, अधुरो अभियान र हराउँदै गएको विश्वास

एकराज गिरी/पोखरा–१८ को अँधेरीकुना। दायाँ–बायाँ हरियाली जंगलको बीचबाट कलकल बग्ने स्वच्छ र कञ्चन पानी। यहीँबाट सुरु हुन्छ फिर्केखोलाको यात्रा। करिब आठ किलोमिटर लामो यो खोला पोखरा महानगरपालिकाका वडा नं. १८, २, ४, ५, ७, ८ र ६ हुँदै अन्ततः पर्यटकीय गन्तव्य फेवातालमा मिसिन्छ। तर मुहानमा निर्मल देखिने यही पानी शहरको बीचभाग पार गर्दै फेवाताल पुग्दासम्म प्रदूषित बन्छ। यही अवस्था अहिले पोखराको वातावरणीय चिन्ताको प्रमुख विषय बनेको छ।

फिर्केखोलाको संरक्षण, अतिक्रमण हटाउने अभियान र फेवातालको स्वच्छतासँग प्रत्यक्ष सम्बन्ध रहेको भन्दै वातावरण संरक्षण महाअभियान, कास्कीको आह्वानमा मंगलबार अँधेरीकुनादेखि फेवाताल किनारसम्म स्थलगत अवलोकन गरिएको छ। अभियानमा नागरिक समाज, संरक्षणकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

बीचमै रोकिएको अभियानप्रति असन्तुष्टि

वातावरण संरक्षण महाअभियान, कास्कीले केही दिनअघि पत्रकार सम्मेलन गर्दै फिर्केखोला बचाउने अभियानलाई बीचैमा रोकिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको थियो। महाअभियानका संयोजक रामबहादुर पौडेलका अनुसार १५ वर्षदेखि नागरिक तहबाट सञ्चालन हुँदै आएको ‘फिर्केखोला बचाउ अभियान’ अझै निष्कर्षमा पुग्न सकेको छैन।

उनका अनुसार सुरुमा उत्साहका साथ खोलाघर खाली गर्न डोजर परिचालन गरिए पनि अहिले अभियान सुस्ताएको छ। यसले फिर्के करिडोर निर्माणको लक्ष्य नै संकटमा पर्ने खतरा बढाएको उनको भनाइ छ।

अझै हटेनन् अतिक्रमित संरचना


स्थलगत अवलोकनका क्रममा पोखरा–४ मा रहेका सुकुम्बासी टहरा, रिटेनिङ पर्खाल तथा अन्य पक्की संरचना पूर्ण रूपमा हटाइएको भेटिएन। वडा नं. ५ र ८ मा केही सामाजिक तथा निजी भवन अझै खोलाघरमै रहेको टोलीले जनाएको छ।

त्यस्तै वडा नं. ७ अन्तर्गत पोखरा इन्जिनियरिङ कलेज आसपास, गहतेस्थित नीलो टहरा, लिटिल स्टेप स्कुलको दक्षिणतर्फका संरचना, मासबार–रत्नचोक जोड्ने पुलको उत्तर–पूर्वी भागको करिब १५ फिट लामो पर्खाल, मालपोत कार्यालय नजिकको कुखुराघरलगायतका संरचना पनि यथावत रहेको संयोजक पौडेलले जानकारी दिए।

अध्ययनले देखाएको अतिक्रमणको वास्तविकता

फिर्केखोलाको अतिक्रमणबारे विगतमा विभिन्न अध्ययन भएका छन्। २०८० साल भदौमा बासुदेव पौडेलको नेतृत्वमा गरिएको सीमांकनमा १४७ वटा संरचना खोलाघर मिचेर निर्माण गरिएको पुष्टि भएको थियो। तीमध्ये २५ वटा सामाजिक भवन, ३५ वटा निजी पक्की घर र ८७ वटा कच्ची टहरा रहेका थिए। सीमांकनका क्रममा एक महिनाको अवधिमा ५८४ वटा पिलर गाडिएको थियो।
यसअघि २०६९ सालमा गुरुदत्त बरालको संयोजकत्व तथा तत्कालीन पोखरा उपमहानगरपालिकाको पहलमा इन्जिनियर महेन्द्र गोदार नेतृत्वको अध्ययनले पनि १९२ वटा संरचना मापदण्डविपरीत रहेको निष्कर्ष निकालेको थियो।

महानगरको दाबी र नागरिक समाजको प्रश्न


पोखरा महानगरपालिकाले २०८३ जेठ १० गतेदेखि सञ्चालन गरेको अभियानबाट १६० वटा संरचना हटाइएको दाबी गरेको छ। तर नागरिक समाजले प्रभावशाली व्यक्तिका संरचना जोगाउने प्रयास भएको आरोप लगाएको छ।

संयोजक पौडेलका अनुसार वास्तविक भूमिहीनको उचित व्यवस्थापन आवश्यक भए पनि खोलाघर अतिक्रमण गरेर बनाइएका संरचना भने कुनै पनि हालतमा हटाइनुपर्छ। खोलाघर सुरक्षित नगरी करिडोर निर्माणको योजना सफल हुन नसक्ने उनको तर्क छ।

भत्काइएका संरचनामै पुनः बसोबास

स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले महानगरको ढिलासुस्तीका कारण भत्काइएका संरचनामा पुनः मानिस बस्न थालेको बताए। यसले भविष्यमा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनको भनाइ थियो।

 

उनले भने, “पहिला खोलाघर पूर्ण रूपमा खाली हुनुपर्छ। त्यसपछि मात्रै मापदण्ड लागू गरेर करिडोर निर्माण गर्न सकिन्छ। करिडोर बनेपछि मात्रै फिर्केखोलाको पानी स्वच्छ बन्दै फेवातालसम्म पुग्ने वातावरण तयार हुन्छ।”

फेवाताल संरक्षणसँग जोडिएको प्रश्न

फिर्केखोला केवल एउटा खोला मात्र होइन, फेवातालको जीवनरेखा पनि हो। मुहानमा स्वच्छ रहेको पानी शहरको अव्यवस्थित फोहोर, ढल र अतिक्रमणका कारण प्रदूषित बन्दै फेवातालमा मिसिन्छ। यसले तालको जैविक प्रणाली, पर्यटन र वातावरणमा दीर्घकालीन असर पारिरहेको संरक्षणकर्मीहरूको भनाइ छ।

 

फिर्केखोला करिडोर निर्माणको योजना सफल बनाउन खोलाघर अतिक्रमण पूर्ण रूपमा हटाउने, ढल व्यवस्थापन सुधार गर्ने, हरियाली संरक्षण गर्ने र कानुनी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नेबाहेक अर्को विकल्प नभएको सरोकारवालाहरूको निष्कर्ष छ।

 

पोखराको प्राकृतिक सम्पदाको संरक्षण केवल सरकारी दायित्व मात्र होइन, नागरिक, जनप्रतिनिधि र सरोकारवाला सबैको साझा जिम्मेवारी हो। फिर्केखोलालाई स्वच्छ बनाउन सकिए मात्र फेवातालको भविष्य सुरक्षित रहने संरक्षणकर्मीहरूको विश्वास छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...