पोखरा १३, मंसिर ।पर्यटनको राजधानी पोखरामा खेल पर्यटनको प्रवद्र्धन, रात्रिकालीन व्यवसायको विस्तार र सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले आगामी पुष १० गते दोस्रो संस्करणको पोखरा रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ । यस वर्ष प्रतियोगितामा पुरस्कार राशि वृद्धि गर्नुका साथै भेट्रान्स विधा थप गरिएको आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार फेवातालको बीच भागमा डुङ्गामाथि आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले यस वर्ष पाँच विधामा प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो । तालबाराही मन्दिरको छेउमा माछापुच्छ्रे लगायतका हिमशृङ्खलालाई पृष्ठभूमिमा राखेर आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई पोखराको नयाँ पहिचान र पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्ने विषयमा जोड दिइएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो ।
पोखरा महानगरपालिका वडा नं. ९ सँगको सहकार्यमा गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पुरस्कार राशि वृद्धि र विधा थप गरेर अघि बढाइएको उहाँले जानकारी दिनुभयो । पोखराको नयाँ पहिचानसहितको इभेन्टका रूपमा स्थापित गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । यस वर्ष खुला, महिला, विदेशी, यू–१६ र भेट्रान्स गरी पाँच विधामा प्रतियोगिता सञ्चालन भएको थियो । गत वर्ष चार विधामा सीमित प्रतियोगितामा यस वर्ष भेट्रान्स विधा थप गरिएको हो । साथै, विभिन्न विधाका पुरस्कार राशि पनि वृद्धि गरिएको आयोजकले जनाएको छ ।
खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी महिला, विदेशी, यू–१६ र भेट्रान्स विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा नगद पुरस्कारमै मात्रै एक लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल १७ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पोखरा महानगरपालिका वडा नं. ९ को वार्षिक बजेटसहितको सहकार्य तथा महानगरपालिकाको प्रवद्र्धनात्मक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं. ६, फेवा डुङ्गा व्यवसायी संगठन, मन्त्र थकाली, परिचय एड्भर्टाइजिङलगायत संघसंस्थाको सहयोग रहनेछ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर अस्पताल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहनेछन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडामा नयाँपन दिने उद्देश्यले गत वर्षदेखि प्रतियोगितामा सहकार्य गर्दै आएको बताउनुभयो । पोखरालाई रात्रिकालीन व्यवसाय र उज्यालो वडाको अभियानसँग जोड्न यस्ता कार्यक्रमले थप प्रवद्र्धन गर्ने उहाँको भनाइ थियो । उहाँले प्रतियोगितालाई आगामी दिनमा ‘हेरिटेज रन’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पोखरा भनेको लेकसाइड मात्रै होइन भन्ने सन्देश प्रवाह गर्न पनि रात्रिकालिन सडक दौड महत्वपूर्ण हुने बताउनुभयो ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकालले पोखरामा नयाँ खेलकुद गतिविधिका रूपमा थपिएको रात्रिकालीन सडक दौडले खेल पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरामा पछिल्लो समय पर्यटकको चहलपहल बढिरहेको अवस्थामा प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने उहाँको विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा इभेन्टहरूको सहरका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै रात्रिकालीन सडक दौडले थप पर्यटक आकर्षित गर्ने बताउनुभयो । दिउँसो आयोजना हुने दौडभन्दा फरक स्वरूपमा सञ्चालन हुने यो प्रतियोगिता पोखराको नयाँ पहिचानसहितको इभेन्ट बन्ने उहाँको भनाइ थियो ।
फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालको बीच भागमा डुङ्गामै बसेर पत्रकार सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता सिर्जनात्मक कार्यक्रमका लागि आवश्यक सहयोग र सहकार्य गर्न संगठन तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पोखरामा पर्यटकको चहलपहल बढ्दै गएको पनि उल्लेख गर्नुभयो । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले यस वर्षको दौड क्रिसमस डेको दिनमा परेकाले सडक सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने बताउनुभयो । प्रतियोगिता सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्रतियोगितामार्फत पोखराको रात्रिकालीन व्यवसाय, सडक सुरक्षा र रातको समयमा पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सम्भावनालाई उजागर गर्न खोजिएको बताउनुभयो । पोखरामा रातको समयमा पनि सुरक्षित रूपमा सडक प्रयोग गर्न सकिन्छ भन्ने सन्देश पर्यटन प्रवद्र्धनसँग जोडेर प्रवाह गर्नु प्रतियोगिताको महत्वपूर्ण उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
गत वर्ष आयोजित पहिलो संस्करणमा नेपालसहित नर्वे, फ्रान्स, थाइल्यान्ड र इङ्ग्ल्यान्डका गरी पाँच देशका १४५ जना धावक सहभागी भएका थिए । पहिलो संस्करणमा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधा सञ्चालन गरिएको थियो ।
रात्रिकालीन दौडलाई सुरक्षित बनाउन सहभागी धावकको बिमा गरिने र आयोजकले रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराउने व्यवस्था गरिएको छ । धावकले आवश्यकताअनुसार हेडल्याम्प प्रयोग गर्न सक्नेछन् । दौड सुरु भएदेखि नै धावकको अगाडि, बीचमा र पछाडि स्वास्थ्य टोलीसहितका एम्बुलेन्स परिचालन गरिनेछ । साथै ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले डिसेम्बर १ देखि २० सम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत आवेदन खुल्ला हुने केन्द्रका सचिव सागर सुनारले बताउनु भयो । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी सहरका अन्य पर्यटकीय क्षेत्र र सम्पदाको पहिचान गराउने अपेक्षा आयोजकले गरेको छ । खेल पर्यटनसँगै शान्ति–सुरक्षा, शहरी गतिशीलता, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्दै पोखरालाई रात्रिकालीन गतिविधिका लागि पनि आकर्षक गन्तव्यका रूपमा चिनाउने प्रतियोगिताको लक्ष्य रहेको छ ।
प्रतियोगिता तालवराहीघाट (फेवाताल किनार) बाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कअगाडि फल्चामा पुगेर सम्पन्न हुनेछ ।