मानशा बहुउद्देश्यीय सहकारी शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७, २१ र २२ कार्यक्षेत्र रहेको उक्त सहकारीको शुभारम्भ आज एक समारोहकाबीच पोखरा वडा नं. २१ का अध्यक्ष खगराज आचार्यले गरे । उनले आफ्नो वडाबासी लक्षित गरी स्थापित सहकारीले उद्देश्यमा सफलता प्राप्त गर्ने विश्वास लिँदै वडाबासीको हितमा र सहज सेवा प्रदान गर्न सुझाए । आचार्यले सहकारीलाई नाफामुखीभन्दा सेवामुखी बनाउन सुझाव दिँदै युवाहरुको टीम भएकाले चाँडै गति लिने विश्वास व्यक्त गरे ।

 

कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष गोविन्द देवकोटाले पोखराका तीन वडामा केन्द्रीत रहने सहकारीले विभिन्न परियोजना मार्फत् रोजगारी र उत्पादनमा संलग्न हुने जानकारी दिए । सहकारीले पोखरा वडा नं. २१ मा टपरी उद्योग र डेरी उद्योगको योजना समेत अगाडि बढाएको उनले जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य तथा पोखरा महानगरपालिका सहकारी विभागकी सदस्य राधिका शाही योगी र मयुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मिनराज खड्काले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष छवि पनेरु तथा कार्यक्रम संचालन सचिव रमेश बास्तोलाले गरेका थिए । कार्यक्रमको संयोजन कोषाध्यक्ष प्रकाश सुवेदीले गरेका हुन् ।

 

सहकारीको सेवा शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले सहकारीका सल्लाहकार शिवप्रसाद सापकोटालाई व्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा १८ जनाले रक्तदान गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...