कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार

कैलाली । कैलालीका १३ वटा स्थानीय तहमध्ये दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार बनेका छन् । प्रमुख पार्टी नेपाल कम्युनष्टि पार्टी(एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) मध्येबाट दुई पार्टीले एक÷एक जना मात्रै महिला उम्मेदवार बनाएका हुन् ।

जिल्लामा एक उपमहानगरपालिका, ७ नगरपालिका र ५ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेकोमा एक नगरपालिका र एक गाउँपालिका प्रमुख पदमा महिला उम्मेदवार बनेका छन् ।

कैलालीको लम्की चुहा नगरपालिकाको नगरप्रमुखमा शुशिला शाही र कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी गरी दुई जना महिलाले मात्रै टिकट पाएका छन् । शाही नेपाली काँग्रेसको तर्फबाट र चौधरी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी हुन् । चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन । उनी माओवादी केन्द्रकी उम्मेदवार लक्षमी सत्गौवा थारुसँग पराजित बनेकी थिइन् ।

कैलालीका १३ वटै स्थानीय तहमा सत्ता गठबन्धनका उम्मेदवारले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गराएको एकीकृत समाजवादीको जिल्ला सचिव खडक रावतले जानकारी दिए । सत्ता गठबन्धनले भागबण्डाका आधारमा उम्मेदवार छनौट गरेपछि कैलालीमा महिला उपप्रमुख हुनबाट पनि बञ्चित हुन पुगेका छन् ।

कैलालीका १३ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा पुरुष प्रमुख/उपप्रमुखले उम्मेदवारको टिकट पाएका छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका,मोहन्याल गाउँपालिका र
बर्दगोरिया गाउँपालिकामा प्रमुख÷उपप्रमुख पुरुषले नै टिकट पाएका हुन् । यी स्थानीय तहमा गठबन्धनले गर्दा महिला उपप्रुखबाट बञ्चित हुन पुगेका नेपाली काँग्रेसका जिल्ला सचिव नृप सुनारले बताए ।

यसैगरी अधिकांश स्थानीय तहका वडामा पनि वडाध्यक्षका उम्मेदवार पुरुष नै रहेका छन् । नेकपा एमालेले १२ वटा स्थानीय तहमा उपप्रमुख महिलालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...