एकराज गिरी÷पोखरा भदौ १३ गते । एक आपसमा जोडिएका । परम्परागत शैलीका घर । ढुंगाले छाइएका घरका छना ।त्यति मात्रै हैन, रंगरोगन गरिएका चिटिक्क घर । अनि साँधुरा गल्ली । त्यहाँ पनि ढुंगा बिछ्याइएको बाटो । गुरुङ समुदायको बस्ती ।
याे बयान नेपालकै पहिलो होम स्टे गाँउले परिचित पर्यकीय गाँउ सिरुवारीको हो । आँधीखोला गाउँपालिका–१, स्याङ्जामा पर्ने सिरुबारी १,६१० मिटरको उचाईमा अवस्थित छ । यसलाई होमस्टे पर्यटनको पाठशालाका रुपमा पनि चिनिन्छ । गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय र ग्रामीण पर्यटनका रुपमा स्थापित छ ।
सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको दृश्य एकै ठाँउबाट देखिन्छ भने त्यसको तल बाक्लो बस्ती रहेको छ । चिटिक्क परेका घर र त्यहाँको मौलिक संस्कृतिले सबैको मन लोभ्याउछ ।
गाउँको सिरानबाट देखिने सूर्योदयका साथै सूर्यास्तका मनमोहक दृश्य नम्रता एवं शिष्टतापूर्ण गाउँलेपनले त्यहाँ पुग्ने जो कोही पर्यटकलाई मोहित बनाउछ । नेपालमा घरबास पर्यटनको शुरुवात सिरुबारीबाट भएका कारण यसको आफ्नै विशिष्ट महत्व रहेको छ । पूर्व सांसद रुद्रमान गुरुङको परिकल्पना अनुसार ग्रामीण पर्यटनको सुरुवात भएको हो । होमस्टेको अवधारणमात्रै ल्याएनन उनले निर्माण तथा सञ्चालनका लागि समेत महत्वपूर्ण भुमिका खेले ।
ग्रामीण पर्यटनको माध्यबाट स्थानीय आर्थिक विकासमा सिरुबारी अग्रस्थानमा रहेको र यसैको सिको गरेर नेपालका ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन भए । सिरुबारीमा घरबास पर्यटन शुरु भएपछि नै देशभर यसतर्फ जागरण बढेको हो, पछिल्लो समयमा सिरुबारीमा घरबास पर्यटन सिक्नकै लागि देशका विभिन्न ठाउँबाट होमस्टे सञ्चालक पुग्ने गर्छन ।
सिरुबारीमा वि.सं. २०५४ असोज २२ गतेदेखि पर्यटकका लागि बासको व्यवस्था गरिएको हो । पछि वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरिएको हो । सिरुबारीमा ग्रामीण पर्यटनको अभ्यास भएको एक दशकभन्दा लामो समयपछि मात्र वि.सं २०६५ मा सरकारले ग्रामीण पर्यटन निर्देशिका जारी गरेको हो ।
मिठो खाना र आत्मीय व्यवहार सिरुबारीको विशेषता हो । दिगो पर्यटनको आधार भनेकै आत्मीयता र व्यवहारमा हार्दिकता एवं इमान्दारी हो । गण्डकी प्रदेश तमुहरुको बाहुल्यता भएको प्रदेश हो । सिरुबारीमा पनि गुरुङहरुको बाक्लो बस्ती रहेको छ ।
ढुङ्गै ढुङ्गाले छापिएका सफा एवं सुन्दर बाटो, परम्परागत शैलीमा निर्माण गरिएका घरमा सञ्चालित घरबासको अनुभव लिन जाने पर्यटकलाई गाउँको प्रवेशद्वारमा शुरुमा नै गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयवासीको स्वागतले मन फुरुङ्ग हुन्छ ।