गण्डकी कोटिहोम उत्सवको रौनक : नाचगानले महायज्ञमा थपियो उर्जा

पोखरा, वैशाख — पोखरा महानगरपालिका–१७ स्थित विरौटामा हाल सञ्चालनमा रहेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र जनस्तरसम्मको सहभागिताको महाउत्सव बनेको छ।

 

 

महायज्ञको एक विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न हुनुका साथै, कार्यक्रममा जनप्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको झुल्का र सहभागिताले महायज्ञलाई अझै उल्लासमय बनेको छ ।

महायज्ञको प्रारम्भिक तयारीस्वरूप केही महिना अगाडि पोखरा–६ लेकसाइडमा भूमिपूजन गरिएको भए पनि विविध कारणले महायज्ञको स्थान परिवर्तन गर्दै पोखरा–१७ को विरौटा क्षेत्रमा स्थानान्तरण गरिएको हो । नयाँ स्थानमा समारोहको विधिपूर्वक पुनः शुभारम्भ गर्दै बाराहीघाटमा क्षमापूजन गरिएको थियो।

 

महायज्ञमा विशेष आकर्षणको केन्द्र बन्न पुगेकी छिन् वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही, जसले भूमिपूजनमा सक्रिय सहभागिता जनाउनुका साथै भजन मण्डलीसँगै रमाउँदै खुलेरै नाचेको दृश्यले सबैको ध्यान तानेको छ। कार्यक्रममा सहभागी स्थानीय जनताले वडाध्यक्षको यस्तो सांस्कृतिक झुकावलाई स्वागत गर्दै “जनप्रतिनिधि र जनता बीचको सम्बन्ध अझ प्रगाढ भएको” प्रतिक्रिया दिएका छन्।

 

त्यस्तै, गण्डकी प्रदेश सरकारका प्रेस रजिस्टार बिमला भण्डारी समेत विभिन्न सांस्कृतिक प्रस्तुतिहरूमा सहभागी भई अन्य विशिष्ट व्यक्तित्वहरूसँगै नाचगानमा रमाएकी थिइन्। महायज्ञजस्तो धार्मिक कार्यक्रममा सरकारी पदाधिकारीहरूको यसरी आत्मीयता प्रकट गर्नुले कार्यक्रममा थप उर्जा र सकारात्मक सन्देश दिएको उपस्थित धार्मिक श्रद्धालुहरूको बुझाइ छ।

 

गण्डकी कोटिहोम महायज्ञलाई व्यवस्थित, सफल र प्रभावशाली बनाउन पोखरा महानगरपालिका, वडास्तरीय जनप्रतिनिधिहरू, स्थानीय अगुवा तथा स्वयंसेवकहरू निरन्तर खटिरहेका छन्। विशेषगरी, महानगर प्रमुख धनराज आचार्य स्वयं महायज्ञमा सक्रिय रहँदै शुभकामना व्यक्त गरेका छन्।

 

नगर प्रमुख आचार्यले महायज्ञले केवल धार्मिक लाभ मात्र होइन, समाजमा एकता, सद्भाव र मूल्य–मान्यताको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

उनले भने, “हाम्रा धर्म, संस्कार र परम्पराले हामीलाई जोड्ने काम गर्छन्। यस्तो महायज्ञले हाम्रो सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अवसर दिन्छ। ”भन्दै पोखरा बाट प्रसारित पब्लिक टेलिभिजनको द भ्यु कार्यक्रम प्रस्तोता रघुनाथ वाग्ले बोल्दै शुभकामना समेत ब्यक्त गरेका थिए।
यस्तै महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिका अनुसार –

“धार्मिक कार्य केवल पूजापाठमा सीमित हुनु हुँदैन, यसले समाजमा स्वच्छता, नैतिकता र सचेतना फैलाउनु आवश्यक छ।

 

 

४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेशनले जनाएको छ ।

 

 

कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् ।

 

आज शुक्रबार बाट देबी प्रतिभाको आगमन भएको छ।
कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।

 

 

महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ। यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् – जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् ।

 

गण्डकी कोटिहोम महायज्ञले केवल स्थानीय जनताको धार्मिक विश्वाससँग मात्र सम्बन्ध नराखी, यो कार्यक्रम क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। पोखरा आफैँ पर्यटकीय राजधानीका रूपमा चिनिन्छ, र यस्ता धार्मिक अनुष्ठानहरू पर्यटकहरूलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण आधार बन्न सक्छन्।

 

हायज्ञका अवसरमा विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन तथा अध्यात्मिक प्रेमीहरूको उपस्थिति अझ उल्लेखनीय रहेको छ ।

 

महायज्ञको विशेष पक्षमध्ये एक पक्ष महिला सहभागिता पनि हो। राधिका शाही र बिमला भण्डारीजस्ता महिला नेतृत्वकर्ताको अग्रसरता मात्र नभई, स्थानीय महिलाहरू भजन, भण्डारा, पूजापाठ, तयारी र अन्य व्यवस्थापकीय पक्षमा पनि अग्रपंक्तिमा देखिएका छन् । धार्मिक कार्यक्रममा महिलाको नेतृत्वप्रति सहभागिहरूले प्रशंसा व्यक्त गर्दै यसलाई समाजमा लैंगिक समानताको सकारात्मक संकेत मानेका छन्।

 

दिनहुँ विशेष अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समिति अनुसार १६ गते पछाडी विभिन्न राष्ट्रियस्तरका धार्मिक वक्ताहरू तथा कलाकारहरूको उपस्थिति रहनेछ।

 

गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानको रूपमा सीमित नरही, समाजमा सहकार्य, समर्पण र सद्भावको नयाँ आयाम खोल्ने माध्यम बनेको छ।

 

वडाध्यक्षदेखि प्रेस रजिस्टारसम्मको नाचगानले देखाएको आत्मीय सहभागिता, नगर प्रमुखको सक्रियता, र आम जनताको आस्था—यी सबैले मिलेर महायज्ञलाई सफलताको शिखरमा पु-याइरहेका छन्।

 

यस महायज्ञले केवल केही दिनको कार्यक्रम नभई, लामो समयसम्म स्मरणीय रहने एक सांस्कृतिक दस्तावेज तयार गरिरहेको अनुभूति सहभागी हरेक व्यक्तिले गरिरहेका छन्। जनप्रतिनिधि, स्थानीय अगुवा, स्वयंसेवक, महिला समूह, बालबालिका तथा वरिष्ठ नागरिक—सबैको सहभागिताले यो कार्यक्रमलाई सम्पूर्ण पोखरेली समाजको साझा चाड बनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...