जेन्जी आन्दोलनको उपलब्धि के ?

२०८२ भदौ महिनाको २३ र २४ गतेपछि नेपालको राजनीतिले एउटा नयाँ र अप्रत्याशित मोड लियो । जेन्जी (Gen Z) आन्दोलन भनिएको यो आन्दोलनलाई कतिपयले परिवर्तनको सशक्त विद्रोह र नयाँ आशाको द्योतक माने भने कतिपयले यसलाई व्यवस्था विरोधी विध्वंसको संज्ञा दिए । यस आन्दोलन ‘विद्रोह’ भन्दा ‘विध्वंस’ को बाटोमा गएको र यसले दीर्घकालीन व्यवस्थापकीय परिवर्तनभन्दा सीमित र केहीलाई तत्कालको लागि राजनीतिक लाभ मात्र दिएको छ । यसको आधारमा जेन्जी आन्दोलनको वास्तविक उपलब्धि, यसको सामाजिक-राजनीतिक प्रभाव र समाजमा ल्याएको विभाजन बारे यहाँ चर्चा गर्न खोजिएको छ ।

जेन्जी आन्दोलनको औपचारिक उद्देश्य भ्रष्टाचार, बेरोजगारी र सुशासनको अभाव जस्ता ज्वलन्त मुद्दामा राज्यलाई झकझक्याउनु थियो । तर आन्दोलनको पवित्रतामाथि गम्भीर प्रश्न उठाएको छ र यसले राष्ट्रियतालाई कमजोर बनाएको ठहर हुन थालेको छ । ” यो आन्दोलनले राष्ट्रियतालाई नेपालीको इतिहासमा सबैभन्दा भन्दा कमजोर बनाउदै विदेशी शक्तिहरु र तिनहरुको अनुदानमा चलेका ingo र ngo हरुको चलखेललाई बढायो।

 

” आम जनताले यसो भन्न थालेका छन् । यो भनाईले आन्दोलनको प्रत्यक्ष वा अप्रत्यक्ष परिणामस्वरुप राष्ट्रिय हित र सार्वभौमसत्ता जोखिममा परेको देखाउँछ । आन्दोलनको अराजकता र नेतृत्वविहीनताको फाइदा उठाउँदै विदेशी शक्तिहरू तथा उनीहरूबाट पोषित आईएनजीओ (INGO) र एनजीओ (NGO) हरूले नेपालको आन्तरिक मामिलामा आफ्नो “चलखेल” बढाएको र यसले देशको राष्ट्रियतालाई ” नेपालको इतिहासमा सबैभन्दा भन्दा कमजोर ” बनाएको छ । अराजकता र अस्थिरताको समयमा विदेशी प्रभावको बढोत्तरी हुनु कुनै पनि सार्वभौम मुलुकका लागि गम्भीर खतरा हो ।

 

आन्दोलन पवित्र उद्देश्यका लागि गर्न खोजीएको भए पनि त्योभन्दा आन्दोलनलाई मुलुकको भूराजनीति, देशीविदेशी शक्तिहरुको आन्दोलनमा घुषपैठ, षड्यन्त्र र सेटिङ गरि मानसहरुको हत्या गर्ने र देशको राज्य संचालन केन्द्रका भवन तथा भौतिक सम्पत्ति र रोजगार तथा अर्थतन्त्रलाई ठूलो टेवा दिने निजी औद्योगिक तथा व्यवसायीक प्रतिष्ठानमा आगजनी र क्षति, राज्यको चौथो अंगको रूपमा रहेका संचार गृहमा आगजनी, सुरक्षा कर्मचारीका हतियार खोसिने, १५ हजार कैदी जेल तोडेर फरार जस्ता विषयहरू ठूलो तयारी षडयन्त्रका आधारमा गरिएको थियो त्यसलाई आन्दोलनको आयोजकले थाहा पाउन सकेन ।

 

यी विध्वंसकारी घटनाहरू (ठूलो संख्यामा कैदी फरार, हतियार लुटपाट, भौतिक सम्पत्तिमा क्षति) केवल युवा आक्रोश मात्र नभई, देशको अस्थिरतालाई चरम बिन्दुमा पुर्‍याउने सुनियोजित “षड्यन्त्र” को हिस्सा हुन सक्छ भन्ने आशंका वास्तविकतामा परिणत हुदैछ । आन्दोलनको नियन्त्रण विभिन्न खाले देशीविदेशी शक्ति र स्वार्थ समुहहरुको हातमा पुगेकोले राष्ट्रियता र देशको सुरक्षामा गम्भीर प्रश्न उठन थालेका छन् ।

 

यो आन्दोलनको बारेमा अमेरिकाबाट प्रकाशित न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार यसो भनिइकोछ “ ती घटनाहरू जनताको आकस्मिक क्रोध वा स्वतःस्फूर्त प्रदर्शन होइनन्, बरु पूर्वनियोजित र समन्वित अभियान थिए- जसले देशभर सरकारी भवन, पार्टी कार्यालय र सञ्चार माध्यमहरूलाई लक्ष्य बनायो । आगजनी केवल भावनात्मक विस्फोट होइन, बरु संगठित रणनीतिक गतिविधि थियो, जसले राजनीतिक र सामाजिक अस्थिरतालाई थप गहिरो बनायो ।’’यो आन्दोलनलाई केहीले विद्रोह भनेता पनि यो विद्रोह थिएन नत क्रान्ति नै यसले त प्रतिगमनको रुप लियो भने विध्वंस छोडेर गयो । जेन्जी आन्दोलनको उद्देश्य भ्रष्टाचार, बेरोजगारी र सुशासनको अभाव जस्ता ज्वलन्त मुद्दामा राज्यलाई झकझक्याउनु थियो ।

 

यद्यपि यो आन्दोलनले ‘विद्रोह’ को साटो ‘विध्वंस’ लाई प्राथमिकता दिएको आरोप लाग्न थालेकोछ । यसले हिंसात्मक घटना, आगजनी र भौतिक क्षतिले आन्दोलनको वास्तविक मर्मलाई कमजोर बनाएकोछ । विद्रोहले व्यवस्था वा प्रणालीमा सुधारको बाटो देखाउँछ, तर यो विध्वंसले केवल अराजकता र क्षति पु-याकोछ । परिणामस्वरुप, आन्दोलनले राजनीतिक व्यवस्थामा कुनै ठोस परिवर्तन ल्याउन सकेन । यो आन्दोलनले अवस्था केही होइन भनेझैं कुनै दीर्घकालीन वैचारिक वा संरचनागत समाधान दिएन ।

 

यो परिवर्तनको साटो केहीलाई राजनीतिक अल्पकालीन लाभ दिएकोछ । आन्दोलनले दिएको मुख्य उपलब्धिको रूपमा उल्लेख गरिएको छ ‘८४ को चुनाव ८२ मा गर्ने’ । यसको तात्पर्य निर्धारित समयभन्दा अगावै चुनाव गर्ने कुरा छ तर राजनीतिक पार्टीहरुको धारण सरकारको रवैयाका कारण निर्वाचन हुने वातावरण बनिरहेको छैन । प्रतिबद्धता वा त्यसको वातावरण बन्नु हो, जसले निर्वाचित सरकारको आयु घटाउँछ । झट्ट हेर्दा यो छिटो परिवर्तनको संकेत देखिए पनि, यसले व्यवस्था होइन, केवल पात्र परिवर्तनको सम्भावना मात्र बोकेको हुन्छ ।

 

सबैभन्दा चिन्ताजनक पक्ष भनेको निर्वाचित सरकारका ठाउमा आन्दोलनको परिणामको हवला दिँदै अनिर्वाचित सरकार दिएर गयो । यसको अर्थ जेन्जी आन्दोलनको तत्कालको परिणामस्वरुप देशले एउटा वैधानिक निर्वाचित सरकार गुमाएर (जस्तै, तत्कालीन प्रधानमन्त्रीको राजीनामापश्चात्) गैर-निर्वाचित नेतृत्व (पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा बनेको अन्तरिम सरकार) पाएको अवस्था बाहेक केहि छैन । लोकतन्त्रमा निर्वाचित सरकारलाई हटाएर अल्पकालका लागि भए पनि अनिर्वाचित सरकार ल्याउनुलाई व्यवस्थामाथिको सकारात्मक उपलब्धि मान्न सकिँदैन । यसले राजनीतिक स्थिरतालाई कमजोर बनाउँछ । समयमा नै चुनाव हुन नसके निर्वाचित सरकार देख्न फेरि कति समय कुर्नु पर्ने हो भन्ने अनिश्चितताको अवस्था आउनु यो आन्दोलनको नकारात्मक पक्ष हो ।

 

आन्दोलनमा सहभागी युवाहरूको पृष्ठभूमिमा रहेको असमानतालाई उजागर गर्छ । ‘‘ गाँउका मैलो लुगा लगाएका जेन्जीलाई यो बिद्रोहले केही दिएन । सहर सुकिला मुकिला र बाउले किनि दिएको मोवाईल चलाउनेहरु आन्दोलनमा आए । तर उनीहरुलाई पनि केही दिएन । ” यस भनाईले आन्दोलनको नेतृत्व र मुखरता शहरीया, मध्यम-उच्च वर्गका युवाहरूमा सीमित भएको देखाउँछ, जो डिजिटल पहुँचमा छन् ।

 

ग्रामीण युवा र विपन्न वर्गका मुद्दाहरू ओझेलमा परे । यस आन्दोलनको अर्को डरलाग्दो पक्ष सामाजिक विभाजनको राजनीतिकरण हो । जहाँ हिजो समाजलाई धर्म र जातिका नाममा विभाजन गर्ने खोजिएको थियो । अहिले समाज मात्रै हैन उमेर समुहका नाममा परिवारलाई समेत विभाजन गर्नेछ षड्यन्त्र गरिदैछ । विगतमा राजनीतिक लाभका लागि धर्म र जातका आधारमा समाजलाई टुक्रा पार्ने प्रयास हुन्थे । तर जेन्जी आन्दोलन र त्यसको राजनीतिकरणले नयाँ खतरा जन्माएको छ: पुस्तागत विभाजन । जेन्जी (युवा) र अन्य पुस्ता (बुमर, जेनेरेसन एक्स आदि) बीचको दूरी बढाएर एकलाई अर्काको विरुद्धमा खडा गर्ने षड्यन्त्र भयो । यसले समाजमा मात्र होइन, परिवारभित्रै पनि युवा र अभिभावकबीच वैचारिक दूरी बढाउन सक्छ ।

 

आन्दोलनले युवा आक्रोशलाई सकारात्मक दिशा दिनुको सट्टा हामी र उनीहरूको भावना सिर्जना गरेर राजनीतिक दुनो सोझ्याउन खोजिएको देखिन्छ ।“जेन्जी बिद्रोहको उपलब्धी चाहि अहिलेको सरकारले नेपाली जनता भनेका जेन्जी मात्रै हुन जस्तो गरेर स्वाङ गरेको छ। देशमा उनीहरु भन्दा अरु जनता नै छैनन् जस्तो गरेको छ ? संविधान संशोधन र कानुन बनाउने थलो प्रतिनिधि सभा अनिर्वाचित व्यक्तिकी सिफारिसमा विघटन र संविधानले नचिनेको व्यक्तीको नेतृत्वमा सरकार परिवर्तन जेन्जी आन्दोलनको वास्तविक र एकमात्र उपलब्धिलाई राजनीतिक स्वाङ हो कि भन्ने प्रश्न खडा भएकोछ ।

 

यसअनुसार जेन्जी युवाहरूको साना केही समुहको उपस्थितिबाट प्रभावित भएर वर्तमान सरकारले आफ्नो नीति, निर्णय र सार्वजनिक अभिव्यक्तिहरूमा जेन्जीका आंशिक मुद्दालाई मात्र प्राथमिकता दिई देशका अन्य सम्पूर्ण जनता र उनीहरूका समस्यालाई ओझेलमा पारिएको त छैन ? यो केवल युवा आक्रोशलाई मत्थर पार्ने वा आफ्नो सत्ता टिकाउने राजनीतिक चाल मात्र त होईन प्रश्न उठन थालेको छ । यस्तो स्वाङले अन्य वर्ग, क्षेत्र र उमेर समूहका जनताका वास्तविक समस्या (किसानका समस्या, श्रमिकका माग, वृद्धवृद्धाको सामाजिक सुरक्षा आदि) लाई उपेक्षा गर्छ, जसले राष्ट्रिय समस्याको पूर्ण समाधानमा बाधा पुर्‍याउँछ ।

 

जेन्जी आन्दोलन नेपालको राजनीतिमा नयाँ पुस्ताको प्रवेश र असन्तुष्टिको एक सशक्त अभिव्यक्ति थियो । यो आन्दोलनको महत्वपूर्ण उपलब्धि भनेको राजनीतिक पार्टीका आन्तरिक जीवनलाई पुनर्व्यवस्थित गर्ने, नेता तथा कार्यकर्ताका कार्यशैलीमा सुधार र जनतासंग गर्ने बाचाहरु पुरा गर्नुपर्छ भन्ने कुरामा सचेत तथा आत्मसाथ गराउने कुरामा सचेत गराएको छ । तथापि यसले ‘विद्रोह’ को स्वरूप लिनुको सट्टा विध्वंसको बाटो समायो । यसको मुख्य परिणामका रूपमा व्यवस्थागत सुधारको साटो केवल अल्पकालीन राजनीतिक फेरबदल र निर्वाचित सरकारको स्थानमा अनिर्वाचित सरकारको गठन हुन पुग्यो ।

 

यो आन्दोलनले समाजमा पुस्तागत विभाजनको नयाँ खतरा समेत सिर्जना गरेको छ । जेन्जी आन्दोलनको सबैभन्दा ठूलो र नकारात्मक उपलब्धि भनेको वर्तमान सरकारले जेन्जीलाई मात्र सम्पूर्ण नेपाली जनताको रूपमा प्रस्तुत गरेर गरेको राजनीतिक ‘स्वाङ’ हो । सरकारमा रहेका मन्त्रीका विवादास्पद अभिव्यक्ति र स्टन्ट तथा मन्त्रीको रुपमा अघि ल्याइएका व्यक्ति र तिनका विगतका कृयाकलाप र चरित्रले आखिरी केका लागि यत्रो धनजनको क्षती पु-याइयो – जनताले प्रश्न गर्न थालेका छन् । जबसम्म आन्दोलनले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान वलियो बनाउदैन , वास्तविक वैचारिक जग, समावेशी प्रतिनिधित्व र रचनात्मक मार्ग समाउँदैन, तबसम्म यसले अल्पकालीन राजनीतिक फेरबदल ल्याए पनि दीर्घकालीन रूपमा दिगो र सकारात्मक परिवर्तन दिन सक्दैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...